२०८१ असोज ११ शुक्रबार
काठमाडौं- दूध बेचेको पैसा महिनौंदेखि नपाएका किसान गाईभैंसीलाई दाना, चोकर र ढुटो खुवाउन पनि अब थप ऋण लिने अवस्थामा पुगेका छन् । लाखौंका बक्यौता अड्किँदा किसानको दैनिक जीवनमै असर पर्न लागिसकेको छ ।
काभ्रे मेथेनकोटकी दुर्गा तिमल्सिनाले दशैं सँघारमै आउन लागेपछि गाउँकै समूहबाट ऋण खोज्न थालेकी छिन् । दूध किसान दुर्गा आफूले पाउनुपर्ने लाखौं लिन बाँकी छँदा पनि दुर्गालाई दशैं मनाउन हम्मे छ ।‘आफ्नै पैसा १० लाखभन्दा धेरै लिनुहोला तर अहिले दशैं मनाउन पैसा छैन। यो मर्का कसले बुझिदिने ? उनले गुनासो गरिन।
गाउँभरिका दूध किसानले अहिले भुक्तानी नपाएका दुर्गाले बताईंन। ‘हाम्रो गाउँको मात्रै होइन, भकुण्डेबेँसीमा पनि त्यस्तै छ । माघदेखि वैशाखसम्मको पैसा चाहिँ अलि अगाडि यहाँको दुग्ध सहकारीले दियो, वैशाखदेखिका चाहिँ पैसा पाएको छैन,’ उनले भनिन ‘आफूले बेचेको दूधको भुक्तानी नपाएर दशैं नै मनाउन नपाउने अवस्था धेरैको छ ।’
उता, हेटौंडा उपमहानगरपालिका–१४ स्थित मुक्तिनाथ एकीकृत कृषि फर्म सञ्चालक गीता अधिकारीको पनि दूध बिक्रीको पैसा रोकिएको छ । स्थानीय कृषि सहकारीबाट ऋण लिएर दाना, ढुटो, चोकर खरिद गरेर आधा दर्जन गाईलाई खुवाउँदै आएको अधिकारी बताउँछिन् ।
उनलाई घर खर्चभन्दा पनि ऋणको सावाँ तिर्न नसकेकोमा बढी चिन्ता छ । ‘घर खर्च त जसरी पनि चलाउँथे । दाना, चोकर किनेकै ऋणको सावाँ तिर्न सकेको छैन । दशैं आएर मात्रै भएन खर्च पनि हुनपर्यो,’ उनले भनिन्, ‘नेपालमै केही गर्छु भन्नेलाई यस्ता कुराले धेरै फरक पार्छ । किसानका समस्यामा सरकार किन मौन छ बुझ्नै गाह्रो छ ।
’काभ्रेका अगुवा किसान नारायण नेपालले दूधको बक्यौता रकम भुक्तानी नहुँदा पूरै जिल्लाका किसान समस्यामा रहेको बताए । दूध उत्पादक सहकारी संघले केही निजी डेरी उद्योग र दुग्ध विकास संस्थान (डीडीसी) ले भुक्तानी नदिँदा किसान मारमा परेका छन् ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation