एजेन्सी - रुसले शनिबार क्राइमिया र कृष्णसागर लगायतका क्षेत्रमा व्यापक रूपमा क्षेप्यास्त्र परीक्षण गर्ने घोषणा गरेको छ। त्यसक्रममा आणविक हतियार पनि परीक्षण गरिने उसले जनाएको छ।
यस परीक्षणलाई राष्ट्रपति भ्लादिमिर पुटिन आफैंले अवलोकन गर्नेछन् । परीक्षण अभ्यासमा रुसको स्ट्राटेजिक मिसाइल कमान्ड, नर्दन र ब्ल्याक सी फ्लीट र सदर्न मिलिटरी डिस्ट्रिक्ट सहभागी हुनेछन्। कमान्डर र सैनिकहरूको तयारीको परीक्षणका लागि यो अभ्यास गरिएको हो।
त्यसका साथै स्ट्राटेजिक आणविक र गैरआणविक शक्तिसँग भएको हतियारको विश्वसनीयतालाई पनि यसले जाँच्ने रुसको रक्षा मन्त्रालयले शुक्रवार जनाएको छ। रुसी अधिकारीहरूले यो अभ्यास पूर्वयोजना अनुसार नै भएको दाबी गरेका छन् । तर यसको समय हेर्दा युक्रेनमाथि आक्रमणका लागि यो तयारी हो कि भनी पश्चिमले आशंका गरेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation