काठमाडौं । प्रमुख राजनीतिक दलबीच सहमति हुन नसक्दा विवादमा परेको अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता अन्ततः निष्कर्षतर्फ केन्द्रित भएको छ। यद्यपि विवाद र असहमति भने कायमै छ। सङ्घीय संसद्बाट पारित भएपछि यसको कार्यान्वयनको प्रक्रिया अगाडि बढ्नेछ।
नेपालको ऊर्जा क्षेत्रको विकासका लागि महत्वपूर्ण मानिएको प्रसारण लाइन निर्माणका लागि यो परियोजना अर्को कोसेढुङ्गा बन्ने जानकारहरु बताउँछन् । संसदमा दर्ता भएको ३२ महिनापछि बैठकमा पेश भएको एमसीसी अनुमोदन हुने-नहुनेमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भूमिका निर्णायक देखिएको छ।
संसदमा एमसीसी टेबुल हुँदै गर्दा बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । प्रदर्शनकारीले पनि ढुंगामुढा गरेका थिए । दिनभरिको प्रदर्शनले काठमाडौंको सवारी अस्तव्यस्त हुनु हुनका साथै नयाँ बानेश्वर क्षेत्र दिउँसोभरि रणमैदानमा परिणत भयो।
सडक तनावग्रस्त हुँदा कार्यालय र अस्पताल हिँडेका पैदलयात्रीसमेत रोकिए। दिनभरिको प्रदर्शनमा दश प्रहरी र तीन दर्जन प्रदर्शनकारी घाइते भएका छन्।
एमसीसीको विरोधमा बानेश्वर तनाव ग्रस्त
एमसीसी आज नै संसदमा टेबल गर्नेगरि सरकारले तयारी थालेको थियो । सरकारको तयारीलाई चुनौती दिदै बिहानैदेखि प्रदर्शनकारीहरुले पनि बानेश्वर आसपासमा आफ्नो विरोधको कार्यक्रम सुरु गरेका थिए । बालुवाटारमा दश बजे बस्ने सत्ता गठबन्धनको बैठकअघि शीर्ष नेताहरूले आफ्ना पार्टीका नेता र सांसदसँग छलफल गरेका थिए। त्यसपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका नेताहरु सहमतिको प्रयासमा जुटेका हुन् ।
बालुवाटार बैठकमा कम्तिमा आइतबार नै एमसीसी टेबुल गर्ने र केही समयपछि मतदानबाट टुंगो लगाउन गठबन्धनभित्र सहमति जुटाउने प्रयास भएको थियो। त्यसको कहि समयपछि एमसीसीको विपक्षमा रहेका पार्टी र तीनका जनवर्गीय संगठनद्वारा आन्दोलनको तयारी सुरु गरियो। माइतीघर र संसद् भवन आसपास बाक्लो संख्यामा प्रहरी तैनाथ भएको थियो। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल गरेर प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवबीच आइतबारकै बैठक एमसीसी टेबल गर्ने सहमति जुटेपछि संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । उक्त बैठकले एमसीसीलाई संसद् बैठको कार्यसूचीमा राखेको थियो । त्यसपछि संसद भवनको चारैतिर एमसीसीविरुद्धको प्रदर्शन सुरु भएको हो। भक्तपुरबाट आएको नेपाल मजदुर किसान पार्टीको टोलीको सिभिल अस्पताल अगाडि प्रदर्शन गरेको थियो।
नेकपा माओवादी, एकीकृत समाजवादी तथा ६ वटा बाम घटकको टोलीले बिजुलीबजार क्षेत्रबाट निषेधित क्षेत्र तोड्न प्रयास गरेपछि झडप समेत भएको थियो । प्रहरीले भिड नियन्त्रण गर्न पानीको फोहरा प्रयोग गरेको थियो । दिउँसो १ बजे संसद भवनमा प्रतिनिधि सभाको बैठक सुरु भएपछि सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीद्वारा एमसीसी टेबल गरिएको छ। माओवादी सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध जनाए भने झलनाथ खनाल, भीम रावलद्वार एमसीसीको खण्डन गरेका थिए । एमालेले आज पनि संसद अवरोध सिर्जना गरेको थियो । संसदको बैठक सकिए पछि एमसीसीविरुद्धको प्रदर्शन भने रोकिएन ।
प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेदै ढुङ्गा मुडा गर्नथालेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रयोग गर्दै भीड तितरवितर बनायो। पुनः माइतीघर र शंखमूलबाट प्रदर्शनकारी अगाडि बढ्दा प्रहरीसँग झडप भयो। तीन दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । आज नै शंखमूल क्षेत्रबाट बानेश्वर जाँदै गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीको बा १८ च ४८४५ नम्बरको सेतो ल्यान्डक्रुजर गाडिमाथि बानेश्वर चोकमै ढुंगा प्रहार भएको छ । कतै प्रदर्शनकारीले टायर बालेर विरोध जनाए भने कतै नाराबाजी र ढुङ्गामुडा गरे । त्यसक्रममा तीन प्रहरीलाई बुद्धनगरको भित्री सडकको कपडा पसलभित्र थुनेर कुटपिट गरेपछि प्रहरीले रबरको गोली चलाएको थियो ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation