चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमा सँगै बस्न नसकिने बताएका छन् ।आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा सहभागी भई सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यावहारिक हुने बताए ।
उनले भने, “सरकारमा बसेर सरकारको प्रस्तावको विरुद्धमा मतदान गरिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौँ, तर सँगै जान्छौँ भन्ने कुरा अनैतिक र अराजनीतिक विषय हुन्छ । कि यसका पक्षमा मतदान गरेर सँगै बसौँ, फरक–फरक ठाउँमा मतदान गर्ने भए सँगै बस्न सकिँदैन ।”
हरेक नेता सरकारमा रहेका समयमा मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०का विषयमा विभिन्न किसिमका प्रक्रिया अघि बढेको स्मरण गर्दै उनले छलफलपछि सबैले एमसीसीका पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे ।तत्कालीन नेकपा नेतृत्वको सरकारले ल्याएको प्रस्ताव वर्तमान सरकारले हुबहु सदनमा ल्याइएको जनाउँदै उनले नेताले पहिला सरकारमा रहँदा पनि ठिक र अहिले विरोध गर्दा पनि ठिक भन्ने नगर्न आग्रह गरे। एमसीसीका पक्षमा बोल्नका लागि कांग्रेसले पार्टीपंक्तिलाई प्रशिक्षित गर्ने उनले बताए ।
उनले भने, “यो सम्झौताको पक्षमा कांग्रेस किन उभियो भन्ने कुरा हामी जनतामा गएर भन्दछौँ । सिंगो पार्टी एमसीसीका पक्षमा छ ।”
© Lok Kalam . Designed and Developed by Goldenmud Creation