९ कार्तिक २०८३, आइतबार

ओलीले गृहमन्त्री खाँणलाई भने-एमसीसीको विषयमा एमाले स्पष्ट छ, पहिला एमालेलाई न्याय दिनुहाेस्

  • १२ फागुन २०७८, बिहिबार
Image

काठमाडौं : संसद्‍मा टेबल गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्नेलगायत विषयमा गृहमन्त्री बालकृष्ण खाँणले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

गृहमन्त्री खाँणले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग उनकै निवास खुमलटार र एमाले अध्यक्ष ओलीसँग बालकोटमा पुगी भेटवार्ता गरेका हुन्।

भेटका अवसरमा उनीहरूबीच मुलुकको समसामयिक राजनीतिक परिस्थिति, प्रतिनिधिसभाको गतिरोध खुलाउने र एमसिसी अनुमोदन गर्नेलगायत विषयमा छलफल भएको खाँणको सचिवालयले जनाएको छ।

भेटमा ओलीले खाँणलाई एमसीसीको विषयमा एमाले स्पष्ट रहेको तर एमसिसी प्रक्रियामा सहभागी हुन पहिला एमालेलाई न्याय दिनुपर्ने बताएको ओलीका सञ्चार सहयोगी रामशरण बजगाईँले बताए।

'संसदको सबैभन्दा ठूलो दल एमालेमाथि अन्याय भएको छ। कानून सबै दललाई समानरुपमा लागू गर्नुपर्नेमा त्यो गरिएन। हामीलाई न्याय दिनोस्, अनि मात्र हामी एमसीसी प्रक्रियामा सहभागी हुन सक्छौं,’ एमाले अध्यक्ष ओलीले गृहमन्त्री खाँणलाई भने।'

प्रतिनिधिसभाको बिहीबार बस्ने बैठकमा एमसीसीबारे बहस हुँदैछ र बिहीबार नै अनुमोदन गर्ने तयारी गरिएको छ। सत्तारुढ पाँच दलमध्ये एमसिसी अनुमोदन गर्ने पक्षमा नेपाली कांग्रेस मात्र रहेको छ।

एमसीसीलाई लिएर सरकार अप्ठेरोमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज गृहमन्त्री खाँणलाई सहमति जुटाउन एमाले अध्यक्ष ओलीकहाँ पठाएका हुन्। मंगलबार ओली आफै प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए। खाँणले आजै प्रचण्डलाई पनि भेटेका छन्। 

प्रतिनिधिसभामा यही फागुन ८ गते एमसीसी  प्रस्तुत भएपछि सत्तारूढ दल र प्रतिपक्षी दलहरूबीच त्यसलाई पारित गराउन घनिभूत छलफल भइरहेको छ।

एमसीसी सम्झौताअनुसार यही फागुन १६ गतेभित्र संसद्‍बाट अनुमोदन गर्नुपर्ने समय निर्धारित छ। सरकारले सो अवधिभित्र अनुमोदनका लागि सबै राजनीतिक दलको सहमति जुटाउने प्रयास जारी राखेको छ।    

प्रतिक्रिया

सम्बन्धित खवर