काठमाडौं : कलाकार तथा लोकगायक जयनन्द लामाको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन्।
देउवाले सामाजिक सञ्जालमार्फत् लामाको निधनप्रति दु:ख व्यक्त गरेका हुन्। ‘कलाकार एवं लोकगायक जयनन्द लामाको असमायिक निधनबाट मुलुकले गितसंगीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधक गुमाएको छ,’ प्रधानमन्त्री देउवाले लेखेका छन्, ‘दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।’
भक्तपुरको मध्यपुरथिमी नगरपालिका-१ लोकन्थलीको सचेत मार्गस्थित आफ्नै घर अगाडि ६६ वर्षीय लामा बुधबार बिहान मृत फेला परेका थिए। प्रहरीका अनुसार कलाकार लामा मंगलबार साँझ ७ बजे 'मिटिङ'मा सहभागी हुन भनेर बौद्ध गएका थिए।
राति बौद्धबाट फर्किएका उनको आफ्नै घर अगाडि कारबाट ओर्लदै गर्दा लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेले बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation