कांठमाडौं- कांग्रेस महामन्त्री विश्प्रकाश शर्माले लोकतन्त्रको सवाल, मुलुकको विकास र समृद्धिको सवालमा कांग्रेस एकतावद्ध भएर अघि बढछ भन्ने कुरा संसदबाट पारित गरिएको एमसीसीले देखाएको स्मरण गराएका छन्।
नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको आठौं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै शर्माले गुटको पछि लागेर पार्टीलाई कमजोर बनाउने काम गर्न नहुने बताए । महामन्त्री शर्माले रुपान्तरित कांग्रेस नै मुलुकको भरोसा भएको दाबी गरे। उनले मुलुकको समृद्धिका लागि कांग्रेस एकतावद्ध हुने र मुलुकलाई विकल्प दिनेगरी अघि बढने संकल्प समेत गरे। शर्माले भने, ‘हामी चुनावमा जाँदैछौं, चुनावमा जानुअघि हामी मन्थन गर्न चाहन्छौं, लगातार किन पाँच वर्ष सरकार जान सकिरहेको छैन ?’
कम्तीमा पाँच वर्ष सरकारमा बसेर जनताको सेवा गर्ने सपना कांग्रेसले देख्नुपर्ने बताए। ‘यो ७० वर्षमा पाँच वर्षसम्म सरकार कसैले किन हाँक्न सक्नुभएन ?,’ शर्माले भने, ‘यो गम्भीर प्रश्न छ।’ पञ्चायतकालमै सूर्यबहादुर थापा, बहुदलपछि गिरिजाप्रसाद कोइराला, जनआन्दोलनपछि पुष्पकमल दाहाल र गत चुनावबाट दुई वटा कम्युनिष्ट पार्टी एक भएर केपी ओली सत्तामा आउँदा कुनै सरकार पाँच वर्ष नटिकेको शर्माले बताए। निर्वाचन जित्ने सवालमा पार्टी एक ठाउँमा रहेको भन्दै उनले अबको दसक एउटा बाटो बनाउन सकिने बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation