काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न दिने गरी मापदण्ड तयार गरेका छन्। गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै रात्रिकालीन व्यवसायमा लगाइँदै आएको समय सीमा हटाएर २४ सैं घण्टा चल्न दिने निर्णय गरेको हो।
गृहको निर्णयसँगै अब होटल, रेस्टुरेन्ट, डान्स, दोहोरी क्लब, लाउन्ज बारलगायतका सबै रात्रिकालीन व्यवसाय २४ सै घण्टा सञ्चालन गर्न पाइने भएको हो।
यसअघि प्रहरी प्रशासनले राति १० बजेपछि कुनै पनि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न रोक लगाएको थियो। व्यवसायीले मध्यरात नहुँदै व्यवसाय बन्द गर्दा आर्थिक क्रियाकलाप सुस्ताएको गुनासो गर्दै आएका थिए। त्यसपछि रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर मापदण्ड बनाउन गृहमन्त्री बालकृष्ण खाणले मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा १४ सदस्यीय कार्यदल बनाएका थिए।
कार्यदलले शान्ति सुरक्षालगायतका विषयलाई अध्ययन गरेर रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन गर्न दिन सिफारिस गरेको गरेको थियो। उक्त सिफारिस अनुसार गृहमन्त्री खाणले रात्रिकालीन व्यवसायलाई २४ सै घण्टा चल्न दिने निर्णय गरेका हुन्।
यसले पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने र कोरोना महामारीले थलिएको अर्थतन्त्र पुनर्रुत्थानका लागि ठूलो सहयोग हुने भन्दै गृहमन्त्री खाणको प्रशंसा भइरहेको छ।
मापदण्डमा डान्सबार तथा नृत्य प्रस्तुत हुने स्थानमा अश्लिलता प्रदर्शन हुने गरी नाँच्न नपाइने भनिएको छ। ‘नृत्य प्रदर्शन गर्ने कलाकारहरुले सीपमूलक नृत्य प्रदर्शन गर्नुपर्ने छ’ मापदण्डमा भनिएको छ, ‘आन्तरिक तथा बाह्य पर्यटनलाई टेवा पुग्ने सेवाग्राहीको रुपमा सेवा लिन आउने सबै पाहुनलाई स्वस्थ मनोरञ्जन प्रदान गर्नुपर्नेछ।’
कानुन अनुसार इजाजत प्राप्त गरेर मात्र मनोरञ्जन प्रदान गरेर आर्थिक वृद्धिमा टेवा पुर्याउने गरी व्यवसाय सञ्चालन गर्नुपर्ने भनिएको छ। रात्रिकालीन व्यवसायमा काम गर्ने कामदारलाई पद अनुसार पोशाक, रातिको खाना र घरसम्म पुग्ने यातायातको सुविधा पनि उपलब्ध गराउनुपर्ने भनिएको छ।
मापदण्ड:
© Lok Kalam . Designed and Developed by Goldenmud Creation