९ कार्तिक २०८३, आइतबार

चैत १२ मा चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण, के छ सरकारको तयारी?

  • ६ चैत २०७८, आइतबार
Image

काठमाडौं- चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपालको दुई दिने औपचारिक भ्रमणमा आउँदैछन्। भ्रमण कार्यतालिका अनुसार चिनियाँ विदेशमन्त्री चैत १२ र १३ गते दुईदिन काठमाडौँमा रहनेछन्। परराष्ट्रमन्त्री खड्काको निमन्त्रणामा चिनियाँ विदेशमन्त्री वाङ नेपाल आउन लागेका हुन्। खड्का र वाङबीच गत कार्तिक पहिलो साता भएको टेलिफोन कुराकानीमा भ्रमण आदान प्रदानको सहमति भएको थियो। त्यसलगत्तै मन्त्री खड्काले वाङलाई नेपाल भ्रमणका लागि निमन्त्रणा पठाएका थिए। मन्त्री खड्काले पनि आफू अनुकुल समयमा चीन आउने जवाफ दिएका थिए।

भ्रमणको पहिलो दिन परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच दुईपक्षीय भेटवार्ता हुनेछ। उनले दोस्रो दिन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधामन्त्री शेरबहादुर देउवासँग भेट्नेछन्।

चिनियाँ विदेशमन्त्रीसँगै चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका मन्त्री सङ ताओ पनि नेपाल भ्रमणमा आउन लागेका हुन्। चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यस समेत रहेका सङले हालै विदेश विभागको प्रमुखको हैसियतमा एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भिडियो वार्ता गरेका थिए। राष्ट्रपति तथा पार्टी माहासचिव सी चिनफिङलाई सिधै रिपोर्ट गर्न सक्ने भएकाले सङ बेइजिङमा विदेशमन्त्री वाङपछि नेपाल मामिलामा प्रभावशाली मानिन्छन्।

७ देखि ९ जना जना चिनियाँ अधिकारी वाङ नेतृत्वको प्रतिनिधिमण्डलमा सहभागी हुने परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन्। नेपाल बसाईमा चिनियाँ दुई मन्त्रीले माओवादी अध्यक्ष प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीसँग पनि भेटवार्ता गर्नेछन्। 

चिनियाँ विदेशमन्त्रीको भ्रमणका लागि नेपाल र चीनले गृहकार्य गरिरहेका छन्। काठमाडौँस्थित चिनियाँ राजदूत होउ यान्छीले प्रचण्ड, ओली र गृहमन्त्री बालकृष्ण खाँड तथा परराष्ट्रमन्त्री खड्कासँग वाङको भ्रमणका एजेन्डाबारे छलफल गरिसकेकी छन्।

चिनियाँ विदेशमन्त्री वाङको भ्रमणमा नेपालले सीमाबाट हुने आयात निर्यात खुलाउने, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको चीन फिर्ती र सीमा समस्या समाधान लगायतका विषयलाई एजेन्डा बनाउने तयारी गरेको छ। उता चीनले चाहिँ बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) प्रोजेक्ट इम्प्लिमेन्टेसन एग्रिमेन्ट (परियोजना कार्यान्वयन सम्झौता)लाई अन्तिम रुप दिन चाहेको नेपाली पक्षलाई बताएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उक्त सम्झौताको मस्यौदा चिनियाँ पक्षसँग साटासाट भइसकेको छ।

तर चिनियाँ विदेशमन्त्रीको भ्रमणमा बीआरआई परियोजना कार्यान्वयन सम्झौतामा हस्ताक्षर हुन्छ वा हुँदैन टुंगो भइसकेको छैन। चिनियाँ पक्षले बीआरआई परियोजना कार्यान्वयन सम्झौताका लागि ताकेता गरेपनि परराष्ट्रमन्त्री डा. खड्काले अहिलेसम्म सम्झौता अध्ययनकै क्रममा राखेका छन्। 

बेइजिङको दबाबका बाबजुद एमसीसी अनुमोदन भएको तीन सातापछि चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलरको नेपाल भ्रमण हुन लागेको हो। एमसीसी सम्झौता संसदबाट पास भइसकेकाले अबका दिनमा अमेरिका र पश्चिमा मुलुकहरू नेपालमा थप सक्रिय हुने चिनियाँ पक्षको बुझाई रहेको देखिन्छ। 

यता नेपालमा अहिलेलाई चीनको प्रभाव घटेको अमेरिकी विश्लेषण रहेको पाइन्छ। विश्व महाशक्ति अमेरिका र उदाउँदो शक्ति चीनबीच विश्वव्यापी मुद्दामा देखिएको भूराजनीतिक प्रतिस्पर्धाको बाछिटा नेपालमा यसपटक एमसीसी सम्झौता अनुमोदन गर्ने क्रममा प्रस्टसँग देखिएको हो। अबका दिनमा चीन नेपालमा कसरी प्रस्तुत हुन्छ भन्ने चासो ब्याप्त रहेका बेला विदेशमन्त्री वाङको नेपाल भ्रमण हुन लागेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर