९ कार्तिक २०८३, आइतबार

युक्रेनले नेपाललाई भन्‍यो- रुसी पर्वतारोहीलाई हिमाल चढ्न रोक लगाइ दिनू

  • १७ चैत २०७८, बिहिबार
Image

किभ- रुसले युक्रेनमाथि आक्रमण थालेसँगै युक्रेनले कूटनीतिक सहयोगका लागि अपिल गरेको छ। दिल्लीस्थित युक्रेनी दूतावासले दिल्लीमै रहेको नेपाली दूतावासमार्फत रुसी आक्रमण बन्द नभएसम्मका लागि रुसी पर्वतारोहीहरुलाई हिमाल आरोहणमा प्रतिबन्ध लगाइदिन आग्रह गरेको हो। 

नेपाल सरकारले यस वर्ष नौ जना रुसी नागरिकलाई हिमाल आरोहणका लागि अनुमति दिएको छ।  एकजना रुसी पर्वतारोहीलाई ८ हजार ९१ मिटर अग्लो अन्‍नपूर्ण र अन्य आठजनालाई ६ हजार ५०० मिटर भन्दा होचा हिमाल चढ्ने अनुमति दिइएको छ। 

दिल्लीस्थित युक्रेनी दूतावासले २१ मार्चमा नै दिल्लीकै नेपाली दूतावासमा हिमाल आरोहणमा प्रतिबन्ध लगाउन अनुरोध गरेको हो।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा फौज पठाएको भन्दै युक्रेनी कूटनीतिज्ञहरूले ती पर्वतारोहीहरूलाई अनुमति नदिन आग्रह गरेका थिए। नेपालका सरकारी अधिकारीहरूले आफूहरूले सरकारी नीतिनियमलाई नै पालना गरी पर्वतारोहणका लागि अनुमति जारी गरिरहेका जनाएका थिए। नेपाल सरकारलाई थुप्रै अन्तर्राष्ट्रिय खेलकुद महासंघहरूले रुसी खेलाडीहरूमाथि प्रतिबन्ध लगाइसकेको जानकारी दिएको थियो। 

नेपालको पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले बीबीसीलाई भनेका छन्, 'अहिलेसम्म यस सम्बन्धमा हाम्रो नीतिमा परिवर्तन आएको छैन। हामीलाई विश्वास छ, हाम्रा पहाडहरू विश्वव्यापी सम्पत्ति हुन्। त्यसैले शान्ति प्राप्तिका लागि विश्वका कुनैपनि मुलकका नागरिकले पर्वतारोहण गर्न चाहन्छन् भने कानुनसम्मत व्यवस्थाअनुसार तिनीहरूले त्यसका लागि अनुमति पाउनेछन्।'

यसअघि सरकारले रुसी आक्रमणको विरोध गर्दै शान्तिपूर्ण समाधान खोज्‍न आग्रह गरेको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर