म्याग्दी- गृहमन्त्री बालकृष्ण खाणले आदिवासी जनजातिहरुले मुलुकमा सीमा सुरक्षाको काम गरेको बताएका छन्। म्याग्दी सदरमुकाम बेनीमा आज नेपाल छन्त्याल सङ्घको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै गृहमन्त्री खाणले तराईदेखि हिमालसम्मको सिमानामा आदिवासी जनजातिले मुलुकको सीमा सुरक्षाका रूपमा भूमिका खेलेको बताए।
“हामीले तराईदेखि हिमालको फेदीसम्म हेर्यौं भने आदिवासी जनजातिको बसोबास रहेको देख्छौँ, त्यहाँ उहाँहरु बसोबास मात्रै गर्नुभएको छैन, नेपालको भूमिको रक्षा गर्न पनि भूमिका खेल्नुभएको छ, उहाँहरुप्रति सरकार धन्यवाद ज्ञापन गर्न चाहन्छ”, उनले भने।
नेपालको दुर्गम र विशिष्ट भू-भागमा उल्लेख्य बसोबास रहेको छन्त्याल समुदायको अधिकारको रक्षा र कला संस्कृतिको संरक्षणमा सरकार प्रतिबद्ध रहेको रहेको समेत गृहमन्त्री खाणले बताए। छन्त्याल समुदायको पुर्ख्यौली पेसा खानी उत्खनन् रहेको उल्लेख गर्दै उनले खानी उत्खनन गर्दा स्थानीयवासीको मर्म र भावना बुझेर मात्रै अघि बढ्नु उचित हुने धारणा राखे।
“खानीले तत्कालीन समयमा नेपालको आवश्यकता परिपूर्तिमा महत्वपूर्ण योगदान दिएको थियो, अब उत्खननको क्रममा पनि आदिवासी जनजातिहरुसँगको सहकार्यलाई जोड दिनुपर्छ, स्थानीयवासीको भावना र चाहना समेटिनुपर्छ, स्थानीयवासीको उचित व्यवस्थापन गरेर मात्रै खानी उत्खनन हुन्छ”, गृहमन्त्री खाणले भने।
नेपाल भूगोलका रूपमा सानो रहे पनि संस्कृति,धर्म,भाषा, भूगोल र जातीय विविधता रहेको उल्लेख गर्दै उनले विविधताको संयोजनले नै राष्ट्रियताको संवर्द्धन गर्ने बताए। उनले हिमालको फेदीसम्म बसोबास रहेको छन्त्याल समुदायको पहिचानको रक्षा र संवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेकोसमेत बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation