९ कार्तिक २०८३, आइतबार

राष्ट्रपतिले विभूषित गरेको १० दिनमै डेढलाख रुपैयाँ घुससहित पक्राउ

  • १२ वैशाख २०७९, सोमबार
Image

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रबल जनसेवाश्री चतुर्थ विभूषणबाट विभूषित गरिएकी मालपोत कार्यलय ताप्लेजुङकी अधिकृत लेखा पनेरु (महत) डेढलाख रुपैयाँ घुस रकमसहित पक्राउ परेकी छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले मालपोत कार्यालय ताप्लेजुङकी प्रमुखसमेत रहेकी पनेरुलाई आइतबार रंगेहात पक्राउ गरेको हो। 

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार जग्गा दर्ता कायम गर्ने बेलामा सेवाग्राहीबाट असुल गरेको १ लाख ५० हजार रूपैयाँसहित उनलाई फुङलिङ नगरपालिका-४ कोप्चेबाट पक्राउ गरिएको हो।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ का एक सेवाग्राहीको अंशियारबीच भागबन्डा भइसकेको जग्गा दाखिला खारेज गरी दर्ता कायम गर्ने क्रममा मालपोत अधिकृत महतले घुस लिएकी थिइन्। 

पनेरुले यही वैशाख १ गते मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीबाट उत्कृष्ट राष्ट्रसेवकका रूपमा विभूषण पाएकी थिइन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सिफारिसका आधारमा गृह मन्त्रालयले उनलाई विभूषण दिने निर्णय गरेको थियो। 

प्रबल जनसेवाश्री विभूषण पाउनेको सूचीमा उनको नाम दुई सय ७७औँ नम्बरमा छ। उनलाई प्रदान गरिएको विभूषण पत्रमा लेखिएको छ, ‘नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा तपाईंबाट उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै सम्मानस्वरूप प्रबल जनसेवाश्री चतुर्थद्वारा विभूषित गरिएको छ, मानपदवीको गरिमा अक्षुण्ण राख्दै नेपाल र नेपाली जनताको गौरव एवं श्रीवृद्धिमा तपाईंलाई थप सफलता प्राप्त हुनेछ।’

प्रतिक्रिया

सम्बन्धित खवर