चितवन । चितवनको गड्यौलीकी सुजिता भण्डारीको मृत्यु सम्बन्धमा आत्महत्या दुरूत्साहन मुद्दा खेपेका सचिन भनिने सुकदेव भण्डारीले अभियोगबाट सफाइ पाएका छन्।
न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले बिहीबार उनलाई सफाइ हुने फैसला सुनाएको हो।
राप्ती-३ की २३ वर्षीया सुजिताको आत्महत्या दुरूत्साहनका कारण मृत्यु भएको भनी चितवन प्रहरीमा जाहेरी परेको थियो। घटनाको दोषी आफ्नै ठूलोबुबाको छोरा सचिनलाई बनाई सुजिताको आमाले प्रहरीमा जाहेरी दिएकी थिइन्।
गत असार २२ गते सुजिताको आमा अम्बिकाले जिल्ला प्रहरी कार्यालय चितवनमा हत्या भनी नाम किटान नगरी जाहेरी दिएकोमा पछि नामै किटान गरी आत्महत्या दुरूत्साहन गरेको जाहेरी दिएकी थिइन्।
आत्महत्या दुरूत्साहन मुद्दा लागेका सचिन भण्डारीसँग चितवन अदालतले साउन ३२ गते ५० हजार धरौटी माग गरेको थियो। धरौटी बुझाउन नसकेर उनी कारागार चलान भएका थिए।
काठमाडौंमा रहँदा बस्दा दाजुबहिनीबीच गहिरो प्रेम सम्बन्ध रहेको र बहिनीले असार ९ गते बिहे गर्न भनेकोमा आफूले हुन्न भनेको सचिनले अदालतमा बयान दिएका थिए।
दिदीको घर जान्छु भनी हिँडेकी सुजिता भण्डारी काठमाडौं गएर केही समय दिदीकोमा बसेपछि सचिनले कोठा खोजी बोलाएका र दुबै जना सँगै बसेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको थियो। त्यसपछि आत्महत्या दुरूत्साहन आरोपमा पारिवारिक नातागोता अर्थात् मृतकको ठुलोबुवाको छोरा झापा जिल्लाका सुकदेव (सचिन) भण्डारीलाई प्रहरीले मुद्दा चलाएको थियो।
सुजिताको परिवारले गत असार ११ गते आफ्नो मोबाइलबाट फोन तथा एसएमएस गरी हराएको जानकारी गराएको भन्दै अपहरण भएको भन्दै खोज्न आग्रह गरेका थिए।
असार २० गते राप्ती नगरपालिका वडा नम्बर ३ कै ब्रम्हास्थान सामुदायिक वन स्थित आँपगैरी खोल्सामा सुजिताको शव भेटिएको थियो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation