८ कार्तिक २०८३, शनिबार

काठमाडौं महानगर ९ मा माओवादीले कांग्रेसलाई समर्थन गर्ने

  • १६ वैशाख २०७९, शुक्रबार
Image

काठमाडौं- काठमाडौं महानगरपालिका वडा न. ९ को अध्यक्षमा कांग्रेसलाई नेकपा माओवादी केन्द्रले समर्थन गरेको छ। माओवादीबाट अध्यक्षका लागि उम्मेदवारी दिएका उमा नाथ पौडेलले आज उम्मेदवारी फिर्ता लिएको माओवादीले जनाएको छ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई सघाउन उनले उम्मेदवारी फिर्ता लिएका हुन्। नेपाली कांग्रेसबाट वडा अध्यक्षमा रामजी भण्डारीले उम्मेदवारी दिएका छन् । माओवादीले अब कांग्रेस उम्मेदवार भण्डारीलाई गठबन्धनको साझा उम्मेदवारको रुपमा सघाउने बताएको छ।

आज एक विज्ञप्ति जारी गर्दै माओवादीले अन्य सदस्यको उम्मेदवारी भने कायम रहेको जनाएको छ। केन्द्रको सहमतिअनुसार महानगरमा गठबन्धन गरेको कांग्रेस र माओवादी एक भएपछि वडामा पनि साझा उम्मेदवारले जित्ने सम्भावना बढेको छ।

अब एमाले र कांग्रेसबीच वडा अध्यक्षका लागि मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। उक्त वडाको अध्यक्षका लागि एमालेबाट रामकृष्ण श्रेष्ठले उम्मेदवारी दिएका छन्। यस्तै वडा अध्यक्षका अन्य उम्मेदवारहरुमा राप्रपाका सचिन छामिछाने, नेकपा एकीकृत समाजवादीका राजेन्द्र सिपाई रहेका छन् । वडामा जम्मा मतदाताको संख्या १२ हजार २ सय ४७ रहेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर