काठमाडौं- स्थानीय चुनावको मतदानका लागि अब १० दिनमात्रै बाँकी छ। स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुसँग गठबन्धन गर्न हुँदैन भने सभापति शेरबहादुर देउवाको कटु आलोचना गरेका शेखर कोइराला नै अहिले गठबन्धनमा रहेका दलहरुलाई फकाउन थालेका छन्।
कोइराला सुरुमा कांग्रेसमा गठबन्धनको विपक्षमा खरो अभिव्यक्ति दिने मात्र होइन, गठबन्धन भत्काउने प्रयासमा थिएऽ
पार्टीका बैठकमा मात्र नभएर सार्वजनिक रूपमा पनि उनले माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपासँगको गठबन्धनमा कांग्रेस सिध्याउने खेल जोडिएको भनेर आलोचना गरेका थिए। तर, परिस्थितिले तिनै कोइरालालाई गठबन्धनको बचाउ गर्नुपर्ने बाध्यता आइलागेको छ।
कोइराला गठबन्धनविरुद्ध लागेकै कारण विराटनगरको मेयर कांग्रेसले गुमाउनुपर्ने संकेत देखिन थालेको छ। कांग्रेस र कोइराला परिवारको प्रतिष्ठासँग जोडिएको विराटनगरमा मेयर कोइरालाकै कोटाबाट उम्मेदवार छन्।
विराटनगरको मेयरमा कोइरालाको कोटाबाट नागेश कोइरालालाई गठबन्धनको तर्फबाट कांग्रेसले उम्मेदवार बनाएको छ। सभापति शेरबहादुर देउवाले विराटनगर महानगरको कोटा कोइरालालाई दिएपछि शेखर चुनाव जिताउने रणनीति बनाउन लागेका छन्। तर, एमालेसँग कडा प्रतिस्पर्धा हुने देखिएपछि भने उनी गठबन्धन बलियो बनाउनुपर्ने पक्षमा उभिएका हुन्।
माओवादी केन्द्र र जसपाका नेताहरू मेयर र उपमेयरमा बागी उम्मेदवार बनेका छन्। गठबन्धन नहुने भनेर पहिला कोइरालाले नै विराटनगरको माहौल भड्काएपछि माओवादी केन्द्र र जसपाका नेताहरू थप भड्किएका थिए। कतिसम्म भने विराटनगर महानगरमा मेयर र उपमेयरको कुरै छाडौँ, वडामा समेत माओवादीलाई कांग्रेसले साथ नदिने अडान लियो।
त्यही कारण माओवादी केन्द्रकी नेतृ नमिना न्यौपाने उपमेयरमा बागी उठेकी छन् भने जसपाका नेता उमेश यादव टिकट नपाएको झोँकमा मेयरमा बागी भएका छन्। यी दुई नेताले चुनाव चिह्न 'लालटिन' पाएका छन्। सोही कारण उनीहरूबीच तालमेल भएर चुनावी प्रतिस्पर्धा हुने विश्लेषण विराटनगरमा भइरहेको छ। जसपाका असन्तुष्ट र माओवादी केन्द्रको मत एकै ठाउँमा खस्ने सम्भावना देखिएपछि कोइराला आफ्नो उम्मेदवार जिताउन माओवादी नेताहरूसँग छलफलमा जुटेका छन्।
सोमबार कोइरालाले माओवादीको विराटनगर महानगरका सहइञ्चार्ज भोगेन्द्र यादव र महानगर अध्यक्ष नवीन पौडेलसँग छलफल गरेका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation