चितवन- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भरतपुरको विकासको जिम्मा आफूलाई दिन आग्रह गरेका छन्। नेकपा (एमाले) चितवनले आज आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले एमालेका उम्मेदवारले जित हासिल गरेमा विकासको जिम्मा आफ्नो हुने बताएका हुन्।
प्रतिनिधिसभाको निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने भन्दै उनले भने, “यहाँ विजयी सुवेदीलाई जिताउनुहोस्, विकासको जिम्मा मेरो ।” सुवेदीको पार्टीको माथिल्लो नेतृत्वसँग हटलाइन सम्बन्ध भएको भन्दै उनले विकासमा पहुँच पुग्ने बताए।
भरतपुर महानगरलाई आधुनिक सहरसँग स्मार्ट सिटी बनाउनुपर्ने भन्दै उनले यो काम सुवेदीबाट सम्भव भएको बताए । गठबन्धन लामो समय नटिक्ने भन्दै उहाँले निर्वाचन खटिने राष्ट्रसेवक कर्मचारी, सेना, प्रहरीसँग परोक्ष र प्रत्यक्ष भूमिका खेल्ने सबैलाई विचलित नभई निर्वाचन निष्पक्ष बनाउन आग्रह गरे।
उनले भने, “एमाले र एमालेको नेतृत्वको यस अभियानमा कुनै सहयोग गर्नु पर्दैन, निष्पक्ष, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नुहोस् ।” एमालेले सरकारमा खुट्टा टेक्यो कि विकासको गति पाँचौँ गियरमा कुद्ने भन्दै उनले विभिन्न समस्या झेलेर पनि काम गरेको बताए। उनले भने, “एमाले सरकारमा गर्यो कि नाकाबन्दीको सामना, गर्छ, उत्तरतिरबाट पारवाहको बाटो खुल्छ, विकासका गति अघि बढ्छन्।”
निर्वाचन देश बनाउने सवाल भएको भन्दै उनले एमालेले राष्ट्रिय अभियानको अगुवाई गरिरहेको दाबी गरे। निर्वाचन आयोगले पार्टीका झण्डाका विषयमा जारी गरेको आदेशप्रति संकेत गर्दै उनले भने, “निर्वाचन आयोगले कसलाई जारी गरेको आदेश ? पाँच दलका नेताहरू सँगसँगै हिँडेर एकले अर्काका लागि भोट मागिरहेका छन् । एकले अर्को झण्डा र उम्मेदवार बोकेको छ। अर्कैको प्रचार गरेको छ ।”
© Lok Kalam . Designed and Developed by Goldenmud Creation