काठमाडौं- नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल पाँच वर्षसम्म कुर्सीमा बस्न पाउँदा पनि सिन्को भाँच्न नसक्नेहरुलाई निर्वाचित गर्न नहुने बताएका छन्।
काठमाडौंको तारकेश्वर नगरपालिकामा मंगलबार आयोजित चुनावी सभा सम्बोधन गर्दै उनले यस पटक पाँच वर्षसम्म कुर्सीमा बस्न पाउँदा पनि ढलेको सिन्को उठाउन नसक्नेको विकल्प खोजिनु पर्ने बताए।

‘दुईतिहाइको बहुमत प्राप्त गरेर पाँच वर्षसम्म कुर्सीमा बस्न पाउँदा पनि सिन्को उठाउन नसक्नेहरुलाई फेरि किन निर्वाचित गर्ने?’, नेता पौडेलले प्रश्न गर्दै भने, ‘त्यस कारण यस पटक उहाँहरुको विकल्प खोजिनु पर्छ। यस पटक अरुलाई मौका दिनुपर्छ।’
उनले आसन्न निर्वाचनमा कांग्रेसलाई जिताउन कुनै पनि कसर बाँकी नराखिने पनि जिकिर गरे। ‘कांग्रेसलाई जिताउन हामीले कुनै पनि कसर बाँकी नराखौँ,’ पौडेलले भने, ‘हामीले यो निर्वाचनमा कांग्रेसलाई जिताउँछौँ। कांग्रेसलाई कुर्सीमा राख्छौँ।’
उनले कांग्रेसबाट निर्वाचित हुने नगर प्रमुखहरुलाई कसैले पनि ‘मेयर साप’ नभन्न पनि उर्दी जारी गरे। ‘कृष्णहरिजी मेयर भइसकेपछि उहाँलाई कसैले मेयर साप नभन्नुहोला,’ पौडेलले भने, ‘एक कृष्णहरि भाइ, एक कृष्णहरिबाबु मेरो यो काम गरिदेउ भनेर भन्नुस्।’
उनले कांग्रेसबाट निर्वाचित हुने उम्मेदवारहरु पालिकामा शासन गर्न नभएर सेवक बन्न जाने पनि जिकिर गरे। ‘सिर्जनाजीलाई पनि कसैले मेयर साप नभन्नुस्,’ काठमाडौँ महानगरको प्रमुखका उम्मेदवार सिर्जना सिंहको नाम लिँदै उनले भने, ‘उहाँहरु त्यहाँ शासन गर्न गएको होइन। सेवक बन्न गएको हो।’

© Lok Kalam . Designed and Developed by Goldenmud Creation