काठमाडौं- शुक्रबार हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। बिहीबार आयोगले पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
पत्रकार सम्मेलनमा आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी पूरा भइसकेको बताए। उनले निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अघिबाट मौनावधि सुरु हुने व्यवस्था बमोजिम वैशाख २७ गते मध्यराति १२ बजेपछि सुरु भएको मौनावधिमा निर्वाचन आचारसंहिताको पालनामा आयोगले विशेष सजगता अपनाएको पनि जानकारी दिए।
यस्तै आयोगले आचारसंहिता लागू भएयता हालसम्म आचारसंहिता उल्लंघनका घटनामा ६६ वटा स्पष्टीकरण सोधिएको छ भने ९ वटा सचेत, १ वटा ध्यानाकर्षण गराइएको पनि जनाएको छ। सहप्रवक्ता अर्यालका अनुसार आचारसंहिता उल्लंघन गरेको भन्दै विभिन्न पार्टीका नेताहरुलाई पनि स्पष्टीकरण सोधिएको छ।
निर्वाचन आचारसंहिताको उल्लंघन हुनेगरी मौनावधिमा क्रियाकलाप गरेकोमा आयोगले नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र नेकपा (माओवादी केन्द्र) का वाग्मती प्रदेश कमिटी सदस्य गंगा दाहाललाई वैशाख २८ गते २४ घण्टे स्पष्टीकरण सोधेको आयोगले जनाएको छ।
गुरुङले सेतोपाटी अनलाइनमा प्रकाशित एमाले उम्मेदवारलाई मत दिएर जिताउन आग्रह गरिएको भिडियो आफ्नो अकाउण्टबाट बुधबार बिहान ८ बजेर १० मिनेटमा पोस्ट गरी आचारसंहिता विपरीत अपिल गरेको जनाइएको छ। यस्तै गंगा दाहालले व्यक्तिगत फेसबुक पेजमा भरतपुर महानगरपालिकाका प्रमुखका उम्मेदवार रेणु दाहाल, उपप्रमुखका उम्मेदवार चित्रसेन अधिकारीलाई अत्यधिक मतले विजयी गराउँ भन्ने अनुरोध गरी शेयर गरेको विषयमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
यसैबीच निर्वाचन आचारसंहीता २०७८ को दफा १६ (घ) बमोजिम मौनावधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री, पोष्ट वा शेयर नगर्न वा नगराउन आयोगले ध्यानकर्षण पनि गराएको छ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको भन्दै ढुक्क भएर मतदान गर्न मतदातालाई अपिल गरेका छन् ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation