काठमाडौं- नेपाल भ्रमणमा आएकी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले शनिबार नेपालमा रहेका तिब्बती शरणार्थीहरुलाई भेट गर्ने भएकी छन्। जिया अमेरिकी रास्ट्रपति जो बाइडेनकी तिब्बत मामिला हेर्ने विशेष संयोजक पनि हुन्।
उनले शनिबार अपरान्ह काठमाडौंस्थित तिब्बती शरणार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ। तीन दिने भारत भ्रमण सकेर शुक्रबार काठमाडौं आएकी जियाले बिहीबार धर्मशालामा पुगेर तिब्बती धर्मगुरु दलाई लामासँग भेट गरेकी थिइन्। उक्त भेटप्रति भने चीनले आक्रोश व्यक्त गरेको थियो।
१० वर्षपछि भएको पहिलो उच्चस्तरी भ्रमण दलको नेतृत्व गरेकी जियाले आइतबार उनले प्रधानमन्त्री शेर बहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र गृहमन्त्री बालकृष्ण खाणसँग भेट्ने कार्यक्रम छ।
उनले शुक्रबार साँझ अधिकारकर्मीद्वय भूमिका श्रेष्ठ र मुस्कान खातुनलाई शुक्रबार भेटेकी छन्। ‘एकपछि अर्को अन्तर्राष्ट्रिय साहसी महिला सम्मान पाएका व्यक्तिलाई भेट्न पाउनु मेरा लागि बिशेष उपलब्धि हो’ जियाले ट्वीटमा भनेकी छिन्।
श्रेष्ठ र खातुनलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०२२ र २०२१ मा प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार दिएको थियो। खातुनलाई तेजाब हमला अन्त्यतर्फ लक्षित उनको कार्यका लागि पुरस्कार दिइएको थियो।
सन् २०१९ मा मुस्कान १५ वर्षकी छँदा एक किशोरका प्रेम–प्रस्ताव अस्वीकार गरेकोमा तेजाब हमलाको सिकार भएकी थिइन्। उनको अनुहार, छाती र हातमा गहिरो चोट लागेको थियो।
त्यसैगरी अर्की अधिकारकर्मी श्रेष्ठलाई एलजीबीटीक्यूआई समुदायको जीवनमा सुधार ल्याउने कार्यप्रतिको समर्पणका लागि पुरस्कार प्रदान गरिएको थियो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation