काठमाडौं- स्थानीय तह निर्वाचन २०७९ मा केही उम्मेदवारले शुन्य मतदेखि दोहोरो अंकको मत संख्या कटाउन सकेनन्। वैशाख ३० गते भएको निर्वाचनमा नुवाकोटमा ६६४ पदका लागि भएको निर्वाचनमा दुई हजार एक उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए।
जिल्लाका दुई लाख ३७ हजार ४३४ मतदातामध्ये प्रारम्भिक तथ्याङ्कअनुसार ७० प्रतिशतले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारमध्ये १७ जना उम्मेदवारले आफ्नै मत (एक मत) पनि पाएका छैनन्। १२ जनाको एक एक मत र १३ जनाले दुई दुई मत मात्रै पाएका छन्।
तथ्यांक अनुसार नुवाकोटका करिव एक सय उम्मेदवारले दोहोरो अंकको मत ल्याउन सकेका छैनन्। जिल्लामा मतान्तरण प्रतिशतको आधारमा सबैभन्दा फरक अंकको प्रतिस्पर्धा किस्पाङ–१ को दलित महिला सदस्यमा देखिएको छ।
शून्य मत हुने उम्मेदवार
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा उम्मेदवारी दिएकामध्ये १७ उम्मेदवारले एक मत पनि पाउन सकेनन्। एक मत पनि नपाउने उम्मेदवारमा तारकेश्वर गाँउपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार टेकबहादुर तामाङ, लिखु–१ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार रामप्रसाद लामीछाने, विदुर–४ को वडाध्यक्षमा जनसमाजवादी पार्टीका उम्मेदवार निरञ्जन घिमिरे, विदुर–६ को वडाध्यक्ष पदमा जनसमाजवादी पार्टीका उम्मेदवार सरोज कुमाल, पञ्चकन्या–२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार जगदिश महत र राजु मिजार छन्।
यस्तै किस्पाङ–१ मा वडाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार पल्देन लामा र स्वतन्त्र उम्मेदवार मुकेश घले, बेलकोटगढी–१ को वडा सदस्यमा राप्रपाका उम्मेदवार सक्षम पुडासैनी, ककनी–३ मा उन्नत लोकतन्त्र पार्टीबाट वडा सदस्यका उम्मेदवार पुरुषोत्तम बलामी, किस्पाङ–१ को वडासदस्य पदमा जनसमाजवादी पार्टीका उम्मेदवार सायमन तामाङ र साटो घलेले एकमत पनि प्राप्त गर्न सकेनन्।
यसैगरी पञ्चकन्या–२ को वडा सदस्यमा स्वतन्त्र उम्मेदवारहरू राजु मिजार, मानबहादुर मिजार र दिपेश मिजार, पञ्चकन्या–२ को दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार सरिता मिजार र विदुर–६ को महिला सदस्यमा जनसमाजवादी पार्टीका उम्मेदवार गोमा तमाङले एकै मत पनि पाएनन्।
तारकेश्वर गाँउपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तलाल तामाङ, लिखु गाँउपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दिपचन्द्र राई, ककनी गाँउपालिकाको अध्यक्षमा नेपाः राष्ट्रिय पार्टीका उम्मेदवार ज्ञानबहादुर लामा, बेलकोटगढी–९ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार केशबप्रसाद भट्ट, विदुर–१२ को वडाध्यक्षमा जनसमाजवादी पार्टीका उम्मेदवार राजकुमार तामाङले एक–एक मत मात्र प्राप्त गरेका छन्।
यस्तै, तादी–५ वडाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार निकेश लामा, किस्पाङ–४ वडाध्यक्षमा मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार पूर्णमान तामाङ, बेलकोटगढी–४ मा महिला सदस्यमा एकीकृत समाजवादीका उम्मेदवार ठुलीकान्छी पाण्डे, किस्पाङ–३ को वडा सदस्यमा जनसमाजवादी पार्टीका उम्मेदवार सुपाल तामाङले एक–एक मत मात्र ल्याएका छन्।
विदुर–३ को वडा सदस्यमा एकीकृत समाजवादीको उम्मेदवार केशव खड्का, विदुर ६ को वडासदस्यमा जनसमाजवादी पार्टीका उम्मेदवारहरू लालबहादुर राई र सन्तोष सुनारको एक–एक मत आएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation