काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीका उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना दोहोर्याउन माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन्।
श्रेष्ठले निवेदनमा उपमेयर पदमा नेपाली कांग्रेसको चुनाव चिन्ह रूख र एकीकृत समाजवादीको कलम चिन्हमा मत संकेत गरिएको मतलाई बदर नमान्न माग गरेका हुन्।
'उम्मेदवार नभएको निर्वाचन चिन्हमा मात्र मत संकेत गरिएको मतपत्रलाई सो पदको हदसम्म मात्र बदर गर्नुपर्नेमा प्रतिष्पर्धी उम्मेदवार नै नभएका कलम र रूख चिन्हमा मतसङ्केत भए पनि म उम्मेदवार भएको कलम चिन्हको मतसङ्केतलाई समेत बदरगरी गणना गरेको र यसबाट मतपरिणाममा असर परी, उपविजेता हुने उम्मेदवारले जित्ने र जित्ने उम्मेदवारले हार्ने अवस्थाको गणितीय अवस्था देखापरेको छ', श्रेष्ठले निवेदनमा भनेका छन्, 'तसर्थ स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७,१९,२२,२४ र २६ को भावना र मनशाय अनुसार हुनेगरी प्रतिष्पर्धी उम्मेदवार नै नभएका कलम र रूख चिन्हमा मत संकेत भएका मतपत्रमा म उम्मेदवार भएको कलम चिन्हको मत संकेतलाई सदर मानी स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५२ बमोजिम तत्काल पुन दोहोर्याइ मतगणना गरी गणना हुन बाँकी मतपत्र समेत यसै कानुनी आधारमा गणना हुन मतदान(मतगणना) अधिकृतलाई आदेश गरिपाऊँ।'
काठमाडौं महानगरपालिकामा उपमेयर पदमा ठूलो संख्यामा मत बदर भएको छ। सेतोपाटीले आइतबार दिउँसोसम्मको गणनामा मात्र ३६ हजार मत बदर भएको समाचार प्रकाशित गरेको थियो। श्रेष्ठले सेतोपाटीसँगको कुराकानीमा अहिले बदर भएका मध्ये ५० प्रतिशत मतसंकेत गर्दा रुख र कलम दुबैमा छाप लगाइएको बताए। त्यसलाई आफ्नो मत मान्नुपर्ने उनको तर्क छ। जारी मतगणनामा उपमेयर उम्मेदवार एमालेकी सुनिता डंगोलले ४४७०५ मत ल्याएकी छन् भने रामेश्वर श्रेष्ठले १५६७० मत ल्याएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation