काठमाडौं- तारा एयरको विमान दुर्घटना हुँदा मृत्यु भएका १२ जनाको शव काठमाडौं ल्याइएको छ। नेपाली सेनाको हेलिकप्टमार्फत मुस्ताङको कोवाङ्गबाट १२ जनाको शव काठमाडौं ल्याइएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शववाहनमा राखेर पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। पोस्टमार्टमपश्चात शवलाई आफन्तको जिम्मा लगाइनेछ । यसअघि सोमबार १० जनाको शव काठमाडौं ल्याइएको थियो।
दुर्घटनास्थल मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेबाट आज बिहान ८ः३० बजे फिस्टेल एयरको हेलिकप्टरबाट आधार स्थल कोवाङ्ग ल्याइएको थियो। त्यहाँबाट सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
आइतबार बिहान पोखराबाट जोमसोम जाने क्रममा दुर्घटनामा परेको थियो । विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए । दुर्घटनामा सबैको मृत्यु भएको थियो ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation