८ कार्तिक २०८३, शनिबार

मन्त्री बन्‍ने होडले एकीकृत समाजवादी र जसपाभित्र सल्किँदै भूसको आगो, विभाजनको चेतावनी

  • २६ जेठ २०७९, बिहिबार
Image

काठमाडौं- पछिल्लो समय मन्त्री फेरबदलको विषयले नेपालको राजनीति तरंगित भएको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सल्काएको मन्त्री फेर्ने आगो अहिले जनता समाजवादी पार्टी (जसपा)मा पनि फैलिएको छ। अहिले दुबै दलभित्र विवाद चर्किँदै गएको छ र यसलाई समाधान गर्न दुबै पार्टीका नेतृत्वलाई फलामको च्युरा बनेको छ। 

यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई फिर्ता बोलाउने निर्णय गर्दै थप पाँच  जनाको नाम सिफारिस गरेको थियो। नेकपा एसले मन्त्री बन्‍ने समयसीमा ६ महिना भएको र २२ असोज २०७८ मा मन्त्री भएकाहरूलाई फिर्ता बोलाउन दुवै पार्टीमा सांसदहरूले नेतृत्वलाई चर्को दबाब दिइरहेका छन्। तर, दुवै पार्टीमा मन्त्री बनेकाहरू सरकारबाट फिर्ता हुन चाहिरहेका छैनन्। 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले भनेका छन्, ‘हामीलाई फिर्ता बोलाउने र नयाँ मन्त्री पठाउने केही भएको छैन। भएको भए पो भन्‍नु। तपाईंहरूले केही नभई बारम्बार सोध्नुहुन्छ।’ एकीकृत समाजवादीका खतिवडाको यो भनाइले मन्त्री पद छाड्न उनी पनि तयार छैनन् भन्ने पुष्टि हुन्छ।  जबकि, पार्टी सचिवालय बैठकले उनको ठाउँमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङको नाम अघि सारेको छ।

तर, समाजवादीकै मेटमणि चौधरीले भने जसरी पनि यसअघिका मन्त्रीहरुलाई पार्टीले फिर्ता बोलाउने निर्णय गरेसँगै त्यो निर्णय पार्टीबाट मन्त्री भएकाहरुले मान्‍नैपर्ने बताएका छन्। खतिवडासहित एकीकृत समाजवादीबाट देउवा नेतृत्वको सरकारमा चार जना मन्त्री र एक जना राज्यमन्त्री छन्। उनीहरूमध्ये खापुङको बढुवा, तीन जना मन्त्री र एक जना राज्यमन्त्रीको रूपमा नयाँ अनुहारको नाम सचिवालय बैठकले पठाएको छ। 

एकीकृत समाजवादीमा झण्डै बहुमत सांसद संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘होल्ड’ गरेका छन्। उनी पनि सरकारबाट फिर्ता हुन चाहिरहेका छैनन्। उनको ठाउँमा पार्टी संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठको नाम सिफारिस भएको छ। 

यी दुई मन्त्री मात्र होइन, पार्टीबाट सरकारमा सहभागी अन्य मन्त्रीहरू पनि फिर्ता हुन चाहिरहेका छैनन्। सहरी विकास मन्त्रीको रूपमा सिफारिस भएका सांसद मेटमणि चौधरीले आजसम्ममा आफूसहित पार्टीले सिफारिस भएका नयाँ मन्त्रीहरूको शपथ ग्रहण हुने दाबी गरेका छन्। 

अर्को दल जसपामा भने विवाद भुसको आगोझैँ सल्किरहेको उक्त दलका एक नेताले बताए। विवाद समाधान गर्न अध्यक्ष उपेन्द्र यादवले ढिलाइ गरे विभाजन हुने चरणमा पार्टी पुगेको जसपाका सांसदहरुले बताएका छन्। विवादको कारण मन्त्री पद नै हो। पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरू छ महिना त के आठ महिनामा पनि फिर्ता नहुने पक्षमा छन्। 

२२ असोज २०७८ मा मन्त्री भएकाहरू रेनुकुमारी यादव, महेन्द्रराय यादवलगायत मन्त्री भएका थिए। पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले मन्त्री भएकाहरूलाई छिटो फिर्ता गर्न दबाब दिइरहेका छन्। 

तर, अध्यक्ष यादवले भने भट्टराईको मागलाई वास्ता गरेका छैनन्।  भट्टराई पार्टीको तर्फबाट नयाँ मन्त्रीहरू पठाउनुपर्ने पक्षमा छन्। यादवको चाहना भने वर्तमान मन्त्रीहरूलाई नै निरन्तरता दिनेमा छन्।  सोही कारण जसपामा विवाद भएको हो। अर्कोतर्फ यादवले लोसपासँग फेरि एकता गरेर ठूलो पार्टीको अध्यक्ष हुने चाहनालाई पनि जिवितै राखेका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर