काठमाडौं- जनता समाजवादी पार्टीबाट मन्त्री रहेका राजेन्द्र श्रेष्ठमाथि उनकै दलका नेताले हातपात प्रयास गरेका छन्। स्थानीय विकास तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ माथि जसपाका सांसद रामबाबु यादवले हातपात प्रयास गरेका हुन्।
बिहीबार मन्त्रीको कार्यकक्षमा भेटवार्ता लागि पुगेका सांसद यादवले आफूले सिफारिस गरेका योजनाहरु बजेटमा नपरेको भन्दै मन्त्रीमाथि आक्रोश पोखेका थिए। जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि भेटमा सहभागी थिए।
जसपाबाट मन्त्री बनेका श्रेष्ठलाई आफूले माग गरेका योजनामा बजेट हालिदिन नसकेको भन्दै गुनासो गर्न गएका सांसद यादवले टेबल ठोक्दै आक्रोश पोखेका थिए। बारा क्षेत्र नम्बर ३ बाट विजयी यादवले मागेका योजनामा बजेट नहालिदिएको भन्दै आक्रोश पोखेपछि मन्त्रीको कार्यकक्ष तातेको थियो।
मन्त्री हुने, कार्यकर्तालाई भोट बैंक बनाउने तर योजना नहालिदिने भन्दै यादव कड्किएपछि श्रेष्ठ पनि झोंक्किएका थिए। त्यसपछि यादवले आफ्नो निर्वाचन क्षेत्रमा बजेट नहालिदिएको भन्दै मन्त्रीको कार्यकक्षको टेबल ठोकेका थिए। एउटै पार्टीका मन्त्री र सांसदबीचको अवस्था हात हालाहालको अवस्थामा पुगेपछि श्रेष्ठको सचिवालयले सिंहदरबार प्रहरी प्रभागलाई हतार हतार खबर गरेको थियो।
मन्त्रीको सचिवालयको खबरपछि प्रहरी निरीक्षकको कमाण्डको प्रहरी मन्त्रीको कार्यकक्षमा पुगेको थियो। त्यसपछि सांसद यादवले 'यो हाम्रो आन्तरिक मामिला, प्रहरी आउनुपर्दैन' भनेर बाहिर पठाइदिएका थिए। आफूले पटक पटक सिफारिस गरेका योजना बजेटमा नसमेटिएको गुनासो राख्न जाँदा मन्त्री श्रेष्ठले बोल्नै नदिएको यादवले आरोप लगाए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation