लोक कलम सम्वाददाता,
काठमाडौँ, २७ जेठ ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत( समाजवादी)का कार्यकर्तालाई एमालेमा आए समाहित गरिने बताए । आफुले अन्य पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने सम्बन्धमा कुनै आश्वासन नदिएको बताउँदै, नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अत्यधिक स्थानमा विजयी गराउने बिश्वास पनि आफूलाई भएको बताए ।
विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले सङ्घीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा महत्वपूर्ण भूमिका निभाएका कारण जनताले संसदीय निर्वाचनमा पहिलो पार्टी बनाउने धारणा राखे ।
अध्यक्ष ओलीले आगामी संसदीय निर्वाचनमा अन्य कुनै वामपन्थी पार्टीसँग गठबन्धन नहुने बताएका छन् । उनले मुलुकमा एमाले मात्र वामपन्थी पार्टी रहेको तथा अन्य पार्टीहरु वामपन्थी नभएको जिकिर गरे ।
उनले स्थानीय पालिकाको निर्वाचनले सबै निर्वाचनको स्थिति तय नगर्ने भन्दै सिट सङ्ख्याका हिसाबले केही कम आएर दोस्रो भए पनि लोकप्रिय मतका हिसाबले पार्टी पहिलो भएको जिकिर गरे ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation