काठमाडौं- स्थानीय निर्वाचनको नतिजाले निराश बनेको नेकपा एमाले वर्तमान सरकारलाई बदनाम गरानका लागि विभिन्न तानाबाना बुनिरहेको छ। यही क्रममा एमालेकै एक समूहले अमेरिकी सैन्य रणीनीतिमा नेपाल प्रवेश गर्न लागेको भन्ने आशय दिने एक दस्तावेज सार्वजनिक गर्यो। उक्त दस्तावेजलाई अहिलेको सरकारले हस्ताक्षर गर्न लागेको सम्झौताको प्रस्तावित मस्यौदा भनिएको छ।
निकट भविष्यमा हुने प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका क्रममा उक्त सम्झौतामा हस्ताक्षर हुने एमालेका नेता निकट व्यक्तिहरुमार्फत लेखिएका समाचारहरुमा दाबी गरियो। तर, वास्तविकताको पर्दा उर्घिदै गएपछि नेकपा एमालेको सरकारका पालामा नै उक्त सम्झौताका लागि आग्रह गरिएको खुलासा भयो।
आफैंमाथि खनिएपछि विषयान्तर गर्नका लागि एमालेल संसदीय समितिलाई प्रयोग गर्ने योजना बनायो। मिनि संसद् भनिने संसदीय समितिले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे जानकारी गराउनका लागि बोलावट भयो। समितिले यतिसम्म पनि हेक्का राखेन कि प्रधानमन्त्री देउवाको भ्रमणको मिति नै तय भएको छैन। संसदीय समितिजस्तो जिम्मेवार निकायले हचुवाका भरमा उट्पट्याङ गतिविधि गर्न पनि पछि हटेन।
प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण नै तय नभएका कारण हल्लाका भरमा गैरजिम्मेवार प्रस्ताव ल्याएर बोलाइएको संसदीय समितिमा उनी उपस्थित भएनन्। हुन आवश्यक पनि भएन। प्रधानमन्त्री देउवाले निकट भविष्यमा हुने भनिएको आफ्नो संयुक्त राज्य अमेरिकाको भ्रमण औपचारिकरूपमा तय भएपछि संसद्लाई जानकारी गराउने बताए।
उनले आइतबार नेपाली कांग्रेस सचेतक पुष्पा भुसालसँगको भेटमा भ्रमण तय भएपछि सदन वा संसदीय समितिमा आएर औपचारिकरूपमा जानकारी गराउने इच्छा व्यक्त गरेका हुन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भ्रमणका सम्बन्धमा जानकारी लिन प्रधानमन्त्री देउवालाई समिति बैठकमा बोलाएको सन्दर्भमा समिति सदस्यसमेत रहेका सचेतक भुसालले प्रधानमन्त्रीसँग भेट गरेकी हुन्।
समितिको यसअघिको बैठकमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्रीको अमेरिका भ्रमणका सम्बन्धमा प्रारम्भिक छलफल भएको तर अन्तिम टुङ्गो लागिनसकेको स्पष्ट पारेका थिए। यस विषयमा यति स्पष्ट हुँदा पनि समितिले गरेको यो उट्पट्याङले आगामी दिनमा पनि वास्ताविक धरातलभन्दा बाहिर उभिएर निर्देशन दिने क्रमको निरन्तरता नहोला भन्न सकिन्न्। यस्ता गतिविधि तत्काल रोक्नुपर्छ।
एसपीपीको विषयमा भने प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक आह्वान गर्ने भएका बताइसकेका छन्। गठबन्धनका नेताले प्रधानमन्त्री देउवालाई सर्वदलीय बैठक बोलाएर जनस्तरमा यथार्थ जानकारी गराउनुपर्ने बताएका थिए। यसअघि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणका क्रममा कुनै पनि सम्भौता नगर्ने गरी भ्रमण अगाडि बढाउने विषयमा गठबन्धनमा आबद्ध दलका शीर्ष नेताबीच सहमति बनेको छ । बैठकमा प्रधानमन्त्री देउवाले सम्झौता राष्ट्रिय हितमा नरहेकाले सम्झौता नगर्नेमा शीर्ष नेतालाई आश्वस्त पारेका थिए।
यति जिम्मेवार र पारदर्शीरुपमा अघि बढिरहेको प्रधानमन्त्रीलाई र अहिलेको सरकारमाथि पूर्वपराष्ट्रमन्त्री कुतर्क गर्दै आरोप लगाउन छोडेका छैनन्। आफ्नै पार्टीका नेताहरुबाट बाहिरिएको सम्झौताको मस्यौद्या भन्ने स्पष्ट भइसकेको र एसपीपी माग गर्न आफ्नै सरकार सक्रिय रहेको जान्दाजान्दै फेरि कुतर्कलाई निरन्तरता दिइरहेका छन्। उनले भनेका छन्, दश बुँदे सम्झौताको मस्यौदा आएको कुरालाई फरक ढंगले हेर्नुपर्छ। पछिल्लो डकुमेन्ट कहाँबाट आयो भन्ने कुरा खोज्नुपर्छ।
नेपाली सेनाले नै आधिकारिक दस्तावेज भएको पुष्टि गरिसकेको सन्दर्भमा अब डकुमेन्टबारे खोज्नुपर्ने कुरा केही पनि छैन। तर, अमेरिकी दूतावास, सरकार र सेनाले नै असत्य भनेको सम्झौताको मस्यौदा कहाँबाट के प्रयोजनका लागि सार्वजनिक गरियो र सरकारलाई बदना गराउने तथा मुलुकको सार्वभौमिकता माथि नै धावा बोल्ने गिरोहमाथि अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation