९ कार्तिक २०८३, आइतबार

'पुच्छरले टाउको हल्लाएको' एकीकृत समाजवादीको के होला भविष्य?

  • १२ असार २०७९, आइतबार
Image

काठमाडौं- पार्टी गठन भएको एक वर्ष नपुग्दै नेकपा एमालेबाट छुट्टिएको एकीकृत समाजवादीभित्र आन्तरिक खटपट सुरु भएको छ। माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीले मन्त्ती फेर्न निर्णय गरेसँगै आन्तरिक खटपट सुरु भएको हो। 

स्थानीय तह निर्वाचनमा कमजोर प्रदर्शनपछि असन्तुष्टि बढेको उक्त पार्टीले यो साता लगातार बैठक राखेको छ। शनिबार केन्द्रीय कमिटी बैठक बसेको छ। शुक्रबार पोलिटब्युरो र त्यसअघि सचिवालयका बैठक बसेका थिए। केन्द्रीय कमिटी बैठक सकिनेबित्तिकै केन्द्रीय परिषद् बैठक बस्दैछ। पोलिटब्युरो र केन्द्रीय कमिटीका निर्णय समूहगत छलफलसहित निष्कर्षमा पुग्ने उक्त पार्टीको तयारी छ।

गत २२ जेठमा पार्टीले गरेको गरेको निर्णयअनुसार मन्त्री पद छाडेर निस्कन नमानेका केही मन्त्रीका कारण विवाद छरपस्ट हुन थालेका हुन्। शनिबार दिउँसो केन्द्रीय कमिटी बैठकस्थलमा उपस्थित नेताहरु पनि आफ्नै नेताको विचलनलाई केन्द्रमा राख्दै चिन्ता जनाइरहेका थिए। बैठकमै मन्त्री छाड्न नसकेर खुमलटारदेखि बालुवाटारसम्म नेताहरु धाउन थालेका टिप्पणी सुनिए।

यो टिप्पणी चलिरहँदा तीनजना मन्त्रीहरु आफूहरुलाई क्याबिनेबाट बिदा नगर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगे। माधव नेपालको निर्णयविरुद्ध उभिएका उनीहरुले समानान्तर गतिविधि गरिरहेका छन्। 

मन्त्रिमण्डल हेरफेरको विषय पेचिलो भइरहेको बेला आयोजित केन्द्रीय कमिटीको बैठकमा सहभागी नभइ पर्यटनमन्त्री प्रेम आले धनगढी हुँदै डोटी पुगे भने बाँकी मन्त्री दिनभर पद बचाउने प्रयासमा सक्रिया भए। पार्टी नेतृत्वले गरेको निर्णय नमान्दा एकीकृत समाजवादीमा पुच्छरले टाउको हल्लाएको देखिएको छ। उनीहरुले आफूहरुलाई मन्त्री पदबाट हटाएमा नेकपा एमालेमै फर्किनसक्ने चेतावनीसमेत दिएको नेताहरुले बताएका छन्। 

अर्कोतर्फ प्रस्तावित मन्त्रीहरुले पार्टीको निर्णय लागु गर्न नसकेको भन्दै पार्टी नेतृत्वलाई नै आलोचना गरिरहेका छन्। 

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीको बैठकमा उपस्थित नभइ सामाजिक सञ्जाल र बाहिर हल्ला गर्दै नहिँड्न चेतावनीसमेत दिएका थिए। मन्त्री हेरफेरको लागि नेतृत्वले गरेको सिफारिसमा असन्तुष्टि जनाएर आठ बुँदे मागसहित हस्ताक्षर गरेर पार्टीलाई बुझाएका मन्त्रीसहित १० नेतामध्ये पर्यटनमन्त्री प्रेमसहित ६ जनाले हस्ताक्षर फिर्ता लिएका छन् भने बाँकीले पद जोगाउन दिनभर कसरत गरेका गरे।

पार्टीका अध्यक्ष नेपालले आफूले गरेको सिफारिस अनुसार मन्त्ती हेरफेर गर्न दबाब दिइरहेका छन्। प्रधानमन्त्री देउवाले भने सबै पार्टीबाट मन्त्री हेरफेरको कुरा चलिरहेकोले एकैपटक फेरबदल गर्ने मनसाय बनाएका छन्। एकीकृत समाजवादीले एमालेसँग तत्काल राजनीतिक सहकार्य संभव नहुने बताएको छ। 

‘एमालेले हामीलाई राजनीतिक दलको दर्जा दिएको छैन्,’ खतिवडाले भने, ‘कानुनी र राजनीतिक दुवै जब नेकपा एमालेले हाम्रो पार्टीलाई राजनीतिक दलको सम्बोधन गर्दैन, अस्तित्व स्वीकार नगरेको अवस्थामा एमाले स्वीकार गर्दैनौं।’

नेकपा एकीकृत समाजवादी पनि देशभित्रको शक्ति हो र शक्तिको महत्व हुनुपर्छ भन्ने लागेको खण्डमा त्यो राजनीतिक ‘चियापान’ संभव हुने उनको भनाई छ। 

‘राजनीतिक दल हो, यसलाई मान्छौँ भन्ने उसका अभिव्यक्तिहरु आउन, संसद विघटनदेखि अनेक हतकण्डामा आफ्नो बारेमा धारणा प्रष्ट पारोस्,’ उनले भनेका छन्, ‘यति नभई नेकपा एमाले हाम्रो राजनीतिक सहकार्य संभव छैन्। एमाले संवादको एजेण्डामा छैन।’

नेकपा एकीकृत समाजावादीले आगामी दिनमा मन्त्री फेर्ने कुरामा जोड दिने र अहिलेको सत्ता गठबन्धनलाई निरन्तरा दिने निर्णय गरेको छ। तर, यसअघिको स्थानीय निवार्चनजस्तो नभइ पारस्पारिक सहकार्यका आधारमा अघि बढ्ने निर्णय गरेको हो। 

प्रतिक्रिया

सम्बन्धित खवर