मस्को- गत २८ मेमा रुसको नर्दन फ्लिटले फिनल्यान्ड र नर्वेबाट त्यति टाढा नपर्ने आर्कटिक जल क्षेत्रको बारेन्टस सागरमा एउटा फ्रिगेटबाट क्षेप्यास्त्र प्रहार गरेको थियो। त्यो साधारण प्रक्षेपण थिएन।
रुसी सरकारी समाचार निकाय तासका अनुसार सो परीक्षण प्रक्षेपण गरिएको ‘त्सिकोर्न’ हाइपरसोनिक क्षेप्यास्त्र ध्वनिको गतिभन्दा नौ गुणा छिटो उड्न सक्ने विश्वास गरिएको छ। त्यतिबेला यस क्षेप्यास्त्रले ६ सय २५ माइल टाढाको ह्वाइट सीमा लक्ष्य भेदन गर्न सफल भएको थियो।
यी हाइपरसोनिक क्षेप्यास्त्र वायु रक्षा प्रणालीबाट बच्नका लागि डिजाइन गरिएका हुन्। रुसले पाँच महिनाको अवधिमा गरेको त्यो चौधौँ हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण थियो। रुसको यस कदमले संयुक्त राज्य अमेरिका र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)लाई संभावित खतरा बढाएको छ।
सन् २०१८ मा पहिलोचोटि हाइपरसोनिक हातहतियार योजनाबारे घोषणा गर्दा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका थिए, 'तपाईंहरूले रुसलाई नियन्त्रणमा राख्न असफल हुनु भयो।'
यसैगरी २० अप्रिलमा क्रेमलिनले गर्वका साथ रुसको उत्तरपश्चिम भागमा गरिएको नयाँ अन्तर महादेशीय क्षेप्यास्त्र ‘सार्मात’को परीक्षण प्रक्षेपण सफल भएको घोषणा गरेको थियो। आर्कटिक माथिबाट उडेको यो क्षेप्यास्त्रले ३ हजार ५ सय माइल दुरी तय गरी रुसको सूदुरपूर्वी भागको लक्ष्य भेदन गरेको थियो।
सार्मात आफैमा भने हाइपरसोनिक हतियार होइन। तर, क्रेमलिनले यसलाई हाइपरसोनिक तथा आणविक हतियार बोक्न सक्षम बूस्ट–ग्लाइड वाहन, एभानगार्डसँग जोड्ने योजना बनाएको छ। यो लक्ष्य भेदन गर्नुअघि अप्रत्यासित ट्रयाजेक्टोरीहरूमा २० हजार माइल प्रति घण्टाको दरमा विस्फोट हुने बताइएको छ।
पुटिनले यसको प्रहार उल्कापिण्डको जस्तै शक्तिशाली हुने बताएका थिए। यसलाई साँच्चै एक अद्भूत हतियारको संज्ञा दिँदै पुटिनले भनेका छन्, 'यसले हाम्रो मुलुकलाई धम्की दिने प्रयास गर्नेहरूलाई सोच्नका लागि खुराक प्रदान गर्ने छ।'
डुमा रक्षा समितिका उपाध्यक्ष तथा पुटिनका निकतटम सहयोगी एलेक्सी झुराभ्ल्योभले रुसको आकर्टिक अखडाबाट प्रहार गरिने हाइपरसोनिक आणविक हतियार केवल दश सेकेन्डभित्र फिनल्यान्ड, दुईसय सेकेन्डमा बेलायत पुग्न सक्ने सञ्चार माध्यमलाई जानकारी दिएका छन्।
अहिले विश्वका थुप्रै मुलुक हाइपरसोनिक हतियार विकासमा लागिपरेका छन्। विगत तीन वर्षभित्र अमेरिकाले हाइपरसोनिक हतियार विकासका लागि करिब दश अर्ब डलर खर्च गरेको छ।
चीन र रुसले धमाधम होइपरसोनिक हतियार परीक्षण गरिरहेका छन्। अन्य नौ वटा मुलुकले पनि उननीहरूलाई पछ्याउँदै गरेकाले विश्वमा अर्को नयाँ हातहतियार होडबाजी सुरु भइसकेको चिन्ता जन्माएको छ।
गत मार्चमा रुसले युक्रेनमा अर्ध–हाइपरसोनिक हतियार प्रयोग गरेको खबर बाहिरिँदा अमेरिकी राष्ट्रपति जो बाइडेनले त्यसलाई रोक्नु करिब असंभव नै रहेको बताएका थिए।
अमेरिकी सैनिक युद्ध कलेजको राष्ट्रिय सुरक्षा तथा सामरिक विभागका अध्यक्ष क्यार्री लिले अन्तर महादेशीय क्षेप्यास्त्रलाई लक्ष्य भेदन गर्न करिब २६ मिनेट लाग्ने र यसलाई असर पुर्याउनु अघि नै पहिल्याउन सक्ने तर अत्यन्तै तीव्र गतिमा जाने हाइपरसोनिक क्षेप्यास्त्रलाई अन्तिम क्षणमा मात्र पहिल्याउने सक्ने याहू न्युजलाई बताएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation