काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले आगामी निर्वाचनमा गठबन्धन दलबीच नै तालमेल हुने बताएका छन्। संवाद डबलीले आइतबार काठमाडौंमा गरेको साक्षात्कारमा गुरुङले गठबन्धनभित्र राष्ट्रियता र लोकतन्त्रका विषयमा एकमत रहेकाले आगामी निर्वाचनमा गठबन्धन दलबीच नै तालमेल हुने बताएका हुन्।
उनले गठबन्धनबीचको चुनावी तालमेल परिवर्तन गर्नुपर्ने कारण नदेखिएको जिकिर गरे। गुरुङले राष्ट्रियता र प्रजातन्त्र लगायतका विषयमा विगतमा एमालेले गरेको गम्भीर गल्तीको आत्मसमीक्षा नगरेकाले एमालेसँग सहकार्य हुन नसक्ने तर्क गरे।
फरक प्रसङ्गमा उनले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माका विषयमा छानविन गर्न संसदीय समिति नै गठन भइसकेको अवस्थामा थप टिका टिप्पणी गर्न उचित नहुने धारणा राखे। नेता गुरुङले सबैका सहमतिबाटै नागरिकतासम्बन्धी नयाँ विधेयक सदनमा दर्ता हुने समेत बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation