काठमाडौं - पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी गठनको तयारी थालेका छन्।
उनले आफूनिकट नेताहरूसँग केही दिनदेखि नयाँ पार्टी गठन गरेर जानेबारे छलफललाई तीव्रता दिएका छन्।
भट्टराई जसपाको संघीय परिषद अध्यक्ष थिए। उपेन्द्र यादव पक्षले वीरगञ्जमा केन्द्रीय समिति बैठक गरी भट्टराईलाई जसपा संघीय परिषद अध्यक्षको जिम्मेवारीबाट हटाएका थिए।
यसअघि भट्टराईले पनि काठमाडौंमा जसपा केन्द्रीय समितिको विस्तारित बैठक राखेका थिए।
जसपाबाट अलगिएर भट्टराईले नेपाल समाजवादी पार्टी खोल्न लागेका छन्।
उनीनिकट एक नेताले दिएको जानकारीअनुसार केही दिनभित्र नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता हुनेछ।
‘समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी राख्न लागिएको छ,’ भट्टराईनिकट एक नेताले भने, ‘तीन जना अध्यक्ष रहने गरी पार्टी गठनको तयारी छ, को-को अध्यक्ष हुने भन्नेबारे टुंगोमा पुगिसकेको छैन।’
भट्टराई आफूसहित तीन जना अध्यक्ष रहने गरी पार्टी गठन गर्ने तयारी गरिरहेका छन्।
उनीनिकट एक पूर्वविद्यार्थी नेता नुवाकोटका दीपक लामिछानेको नाममा समावेशी लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता थियो। उक्त पार्टीको चुनाव चिन्ह खुलेको एकल आँखा छ।
गत फागुनमा उक्त पार्टी निर्वाचन आयोगमा दर्ता भएको बताइएको छ।
‘खुलेको एकल आँखा चुनाव चिन्ह पहिले नयाँ शक्तिको थियो। हामीले त्यो चिन्ह अरूले नलैजाऊन भनेर समावेशी लोकतान्त्रिक पार्टीका नाममा दर्ता गरिरहेका थियौं। त्यही चिन्ह रहने गरी पार्टीको नाम परिवर्तन गरेर भट्टराईले नयाँ पार्टी गठन गर्न लाग्नुभएको हो,’ समावेशी लोकतान्त्रिक पार्टी गठन गर्दाका एक नेताले भने।
भट्टराईको सचिवालयका एक सदस्यका अनुसार केही दिनभित्र नेपाल समाजवादी पार्टी गठन गरी दर्ताका लागि निर्वाचन आयोग जाने तयारी छ। ‘पार्टीको नाम परिवर्तन गर्ने र विधान बनाउने जस्ता काम भइरहेका छन्, पार्टी गठन गर्न अझै केही दिन लाग्छ,’ सचिवालयका ती सदस्यले भने।
भट्टराईले २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा तत्कालीन नयाँ शक्तिबाट आँखा चुनाव चिन्हबाट जितेका थिए।
जसपामा विवाद भएपछि पछिल्लो समय उपेन्द्र यादव र भट्टराई सौहार्दपूर्ण वातावरणमा अलग हुने सहमति गरेका थिए। यादवले भने भट्टराईले पार्टी कब्जा गर्न खोजेकोले संघीय परिषद अध्यक्षबाट निकालिएको दाबी गर्दै आएका छन्।
यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी केन्द्र बनाएर जानेबारे पनि भट्टराईसँग छलफल गर्दै आएका छन्। समाजवादी केन्द्र बनाएर जाने छलफल भइरहँदा भट्टराईले नयाँ पार्टी गठन गर्ने तयारी गरेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation