काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाकाली सन्धिमा कमजोरी रहेको स्वीकार गरेका छन्। महाकाली सन्धि संसद्ले अनुमोदन गरेको साढे दुई दशकपछि ओलीले त्यसलाई स्वीकार गरेका हुन्।
सोमबार काठमाडौंमा पूर्वजलस्रोत सचिव द्वारिकानाथ ढुंगेलको पुस्तक लोकार्पण कार्यक्रमका ओलीले सन्धि अनुमोदन गर्न महत्त्वपूर्ण भूमिका खेलेका ओलीले महाकालीको पानी दुवै देशको आधा आधा हो भन्ने विषयलाई सन्धिले स्थापित गरेको बताए।
तल्लो शारदा नहरले प्रयोग गरेको पानीको बारेमा त्यस समयमा चर्चा नहुनु कमजोरी भएको ओलीले बताए। 'त्यस समयमा केही केही चर्चामा नरहेको विषय पनि रहेछ। धेरै पहिलेदेखि तल्लो शारदा नहर पनि चलेको रहेछ। त्यस समयमा चर्चा भएन। त्यसले गर्दा पानी खपतको बाँडफाँडको विषयमा प्रसस्त छलफल हुन पाएन। कतिपय ल्याप्सेस (कमजोरी) रहे,' उनले भने।
महाकाली सन्धि अनुमोदन भने आवश्यक रहेको उनको दाबी थियो। २०५३ सालमा संसदले सन्धिलाई अनुमोदन गरेको थियो। त्यस समयमा नेकपा एमालेभित्र त्यसले ठूलो विवाद निम्त्याएको थियो। सोही विषय चर्किँदै गर्दा त्यसबेला एमाले विभाजित समेत बनेको थियो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation