काठमाडौं- तीन दिने चीन भ्रमणका रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता भएको छ। सान्तोङ प्रान्तको छिङ्ताओ शहरमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका हुन्।
भेटमा परराष्ट्रमन्त्री खड्काले नेपालको एक चीन नीतिप्रति प्रतिबद्धता जनाएका छन्। उनले चीन बिरोधी कुनै पनि गतिबिधी हुन नदिने प्रतिबद्धता पनि ब्यक्त गरेका छन्। नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत् नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको टिप्पणी गरेपछि चीन खुसी भएको छ।
भेटवार्ता सौहार्दपूर्ण र फलदायी भएको बताइएको छ। दुई मन्त्रीबीच नेपाल-चीन सम्बन्धका विविध पक्षका विषयमा छलफल भएको र पारस्परिक हितका विषयमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री खड्का बुधबार राति हिमालय एयरलाइन्सको चार्टर्ड विमानबाट बेइजिङबाट करिब दुई घन्टाको उडानबाट पुगिने छिङ्दाओ सहरमा ओर्लिएका हुन्।
चिनियाँ विदेशमन्त्री वाङ यीबाट निमन्त्रणा पाएको नौ महिनापछि परराष्ट्रमन्त्री खड्का उत्तरी छिमेकीको औपचारिक भ्रमणमा निस्केका हुन्। मंगलबार चीन भ्रमणमा गएका परराष्ट्रमन्त्री खड्का बिहीबार नेपाल फर्किने कार्यक्रम छ ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation