काठमाडौं- कागेश्वरी मनोहरा नगरपालिकाले सहयोगमा असहाय गाईबाच्छा उद्धार गरी संरक्षणका लागि पशु एम्बुलेन्स खरिद गरिएको छ। पशु एम्बुलेन्स खरिदपछि नगरप्रमुख उपेन्द्र कार्कीले अलपत्र परेका गाईबाच्छाको संरक्षणको अभियानलाई थप सहज हुने विश्वास व्यक्त गरेका छन्।
उनले भने, 'आव २०७९/८० को प्रथम चेक असहाय गाईबाच्छा संरक्षण अभियानको लागि सडकमा अलपत्र गाईबाच्छाहरुको उद्धारलाई सहज बनाउन पशु एम्बुलेन्स खरिदका लागि कागेश्वरी मनोहरा नगरपालिकाद्वारा चेक हस्तान्तरण गरेका थियौं। सडकमा अलपत्र गाईबाच्छाको उद्धारमा अहोरात्र क्रियाशिल असहाय गाईबाच्छा संरक्षण अभियानको आश्रयस्थलमा झण्डै २०० वटा गाईबाच्छाले संरक्षण पाइरहेका छन् भने अभियान अन्तर्गत सडकमा अलपत्र छाडिएका गाईबाच्छाहरुको उद्धार हरेक दिन गरिंदै आएको छ। पशु एम्बुलेन्सको आगमनसँगै अभियानमा नयाँ आयाम थपिएको महसुस गरेको छु।'

यसअघि नगरपालालिकाले एम्बुलेन्स खरिदका लागि रु २३ लाख आर्थिक सहयोग गरेको थियो। नगर प्रमुख उपेन्द्र कार्कीले असहाय गाईबाच्छा संरक्षण अभियानका संयोजक उत्तम पुडासैनीलाई चेक हस्तान्तरण गरेका थिए।
प्राप्त सहयोगले सडक, मठमन्दिर एवं सार्वजनिकस्थलबाट गाईबाच्छा उद्धार गरी संरक्षण स्थलसम्म लैजान पशु एम्बुलेन्स खरिद गरिने भएको छ। अभियानले विसं २०७५ जेठ १ गतेदेखि सडक, मठमन्दिर एवं सार्वजनिक स्थलमा छाडा छोडिएका गाईबाच्छाको उद्धार गरी संरक्षण गर्दै आएको छ।
एम्बुलेन्स खरिद गर्न नगरपालिकाबाट सहयोग प्राप्त भएसँगै लामो समयदेखिको सपना साकार भएको संयोजक पुडासैनीले बताए। यो धर्ती अबोध प्राणीको पनि भएकाले निरन्तर सहयोग जुटाउँदै अभियानले छाडा छोडिएको गाईबाच्छा संरक्षण गर्दै आएको छ। लक्ष्मीमाताका रूपमा वैदिक सनातन हिन्दू धर्मावलम्बीले पुज्ने गाईबाच्छाले पनि ससम्मान जिउन पाउनुपर्छ भन्ने स्थापित गर्न अभियान सुरु भएको हो।
असहाय गाईबाच्छाको उद्धारका लागि एम्बुलेन्स खरिद गर्न कागेश्वरी मनोहरा नगरपालिकाको सहयोग
© Lok Kalam . Designed and Developed by Goldenmud Creation