काठमाडौं- कांग्रेस नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीले आफूलाई भेट्न आउनेहरूसँग आफ्नो अन्त्येष्टि सिरहाको बस्तीपुरमा गराइदिन आग्रह गर्ने गरेको थाहा भएको छ।
पत्रकार किशोर नेपालले सामाजिक सञ्जालमार्फत गिरीले बस्तीपुरमै आफ्नो अन्त्यष्टि होस् भन्ने चाहेको बताएका छन्।
'प्रदीप दाइ चाहनु हुन्थ्यो, उहाँको अन्तिम संस्कार राजधानीको तामझामबाट टाढा, बस्तीपुर, सिराहास्थित आश्रमको शान्त परिवेशमा होस्। उहाँको यो इच्छाको कदर गर्न म नेपाल सरकार तथा सम्बन्धित पक्षसँग आग्रह गर्दछु,' उनले भने।
कांग्रेस नेता रामचन्द्र पौडेलले गिरीको निधनबाट कांग्रेसको समाजवादी आन्दोलनलाई ठूलो क्षति पुगेको बताएका छन्। उनको दर्शन र विचार सदै अमर रहने पौडेलले बताए। 'प्रदीपजीको दर्शन, विचार सदैव अमर रहनेछन्। दु:खद् यस क्षणमा प्रदीपजीको आत्माको चीर शान्तिको कामना साथै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्दछु,' पौडेलले भनेका छन्।
निजी स्वार्थ र पदको लोभ नराखी निराशक्त भएर जीवनभर विचारको राजनीति गरेको पौडेलले बताए। उनी नेपाली राजनीतिमा प्रेरणाको स्रोत भएको पौडेल स्मरण गर्छन्।
कांग्रेस नेता शेखर कोइरालाले नेपालको सिंगो राजनीति र पार्टी संगठनमा गिरीको योगदान सधैं खड्किरहने बताए। 'नेपाली राजनीतिका अग्ला व्यक्तित्व, समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनले स्तब्ध र मर्माहत बनाएको छ,' उनले भने, 'नेपालको प्रजातान्त्रिक आन्दोलन तथा पार्टी संगठनमा प्रदिप दाइले पुर्याउनुभएको योगदानको जति नै चर्चा गरे पनि अधुरै रहन्छ।'
नेपालको सिंगो राजनीति र सिंगो कांग्रेस पार्टीमा गिरीको अभाव सधैँ खट्किरहने उनी बताउँछन्। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले महागुरु गुमाएको प्रतिक्रिया दिएका छन्। 'एउटा विश्वविद्यालय, जो आजबाट सदाका लागि बन्द भयो! निस्काम कर्मयोगी महान गुरु भावपुर्ण श्रद्धाञ्जली,' उनले भने।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation