काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उनकै फ्यानविरुद्ध जबरजस्ती करणी गरेको मुद्दामा जाहेरी परेको छ।
गौशाला प्रहरी वृत्तमा १७ वर्षीया एक नाबालिगले आफूलाई सन्दीपले जबर्जस्ती करणी गरेको भन्दै मंगलबार जाहेरी दिएकी हुन्। प्रहरीले मंगलबार नै ती किशोरीको मेडिकल जाँच पनि गरेको छ। मेडिकल जाँचपछि यस घटनाको अनुसन्धान थालेको छ।
जाहेरीअनुसार ती किशोरी र सन्दीपको चिनजान सामाजिक सञ्जाल ‘स्न्यापच्याट’मार्फत भएको थियो। किशोरी सन्दीपकी फ्यान थिइन्। स्न्यापच्याटमा ‘स्यान्डी ड्रिम्स’ नामको सन्दीपको आईडीमा जोडिएकी उनलाई चिनजानको छोटो समयमै घुमाउनका लागि अफर गरेका थिए।
भेटका लागि किशोरी राजी भइन्। भदौ ५ गते साँझ ६ बजे किशोरीलाई लिन सन्दीप निजी कार लिएर किशोरी बस्ने होस्टल नजिकै पुगे। कुनै क्याफेमा पुगेर कफी पिउँदै सन्दीपसँग फोटो लिने किशोरीको चाहना थियो। तर उनको चाहना विपरीत सन्दीपे उनलाई नगरकोट लगेर गए।
किशोरीले फर्किन आग्रह गरे पनि सन्दीपले समयमै ‘ड्रप’ गरिदिने आश्वासन दिए। करिब ८ बजे उनीहरु नगरकोट पुगे। नगरकोटमा केही खानपानसँगै सन्दीपले मद्यपान गरे।
किशोरीको जिद्दीपछि सन्दीप काठमाडौं फर्किन राजी भए। उनीहरु काठमाडौं पुगुञ्जेल रातिको ११ बजिसकेको थियो। होस्टल बन्द भइसकेकाले सन्दीपले होटल जान प्रस्ताव गरेका थिए। किशोरीसँग अर्को विकल्प थिएन र होटलमा बसे। एउटै कोठा भए पनि जान उनी तयार भइन्।
साढे ११ बजे गौशालास्थित तिलगंगामा रहेको एक होटलमा उनीहरू गए। होटलमा मादक पदार्थ पिलाएर लठ्याएर आफूमाथि सन्दीपले जबर्जस्ती करणी गरेको आरोप किशोरीको छ।
ती किशोरीका अनुसार सन्दीपले अर्को दिन नै उनलाई स्न्यापच्याट र इन्स्टाग्राम सबैतिरबाट ब्लक गरे। त्यसपटि मानसिक तनावमा परेकी उनले सामाजिक अभियन्ताहरुको उक्साहटमा जाहेरी दिएकी हुन्।
सन्दीप यतिबेला ट्रिनिडाड एन्ड टोबागोमा छन्। भदौ ६ मा नेपालबाट बिदाई भएका उनी केन्यासँग एकदिवसीय र टी-२० सिरिज खेलेर क्यारेबियन प्रिमियर लिग खेल्न गएका हुन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation