काठमाडौं- दार्चुलामा बाढीपहिरोपछि थुनिएको महाकाली नदीमा पानी बग्न थालेको छ। शुक्रबार राति भएको भारी वर्षासँगै आएको बाढीपहिरोका कारण महाकाली नदी थुनिएर ताल बनेको थियो।
शनिबार बेलुकादेखि पानी आफैँ बग्न थालेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले बताइन्। दुहुँ र महाकाली नगरपालिका जोड्ने पक्की पुल बाढीले बगाएको छ।
महाकालीका ४० भन्दा धेरै घर जोखिममा परेका छन्। त्यस्तै लास्कु खोलामा आएको बाढीबाट एउटा झोलुङ्गे पुल बगेको छ।
दुहुँ र व्यास क्षेत्रबाट सदरमुकाम खलङ्गा आउने–जाने बाटो बन्द भएको छ। बाढी/पहिरोमा परी पाँच जनाले ज्यान गुमाएका छन्। बेपत्ता भएका १० जनाको अवस्था अझै थाहा हुन सकेको छैन। उनीहरूको खोजी भइरहेको छ।
बेपत्तामा महाकाली–३ डुङरीका धनसिंह कार्की तथा उनका छोराहरू दीपक र दिनेश तथा अन्य चारजना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनामा घाइते भएका ८ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी साउदले बताइन्।
महाकाली–३ मा रहेको दशरथ आधारभूत विद्यालयसमेत बगाएको छ। बाढीले महाकाली–३ मा रहेको डुङ्ग्री विद्युत् पावर हाउसमा पनि पूर्णरुपले क्षति पुर्याएको छ। सदरमुकाम खलङ्गामा खानेपानीको अभाव भएको छ।
बाढी/पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री बोकेर सेनाको हेलिकप्टर गएको छ। उद्योग तथा वाणिज्यमन्त्री दीलेन्द्रप्रसाद बडू, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल, सुदूरपश्चिम प्रदेशका वन वातावरण उद्योग तथा पर्यटनमन्त्री मानबहादुर धामीसहितको टोली पनि सदरमुकाम खलङ्गा पुगेको छ।
मृतक पाँचै जनाको सनाखत
दार्चुलामा बाढी पहिरोमा परी मृत्यु भएका पाँच जनाको सनाखत भएको छ। मृत्यु हुनेमा नौगाड गाउँपालिकाका तीन र महाकाली नगरपालिकाका दुई छन्।
सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार बाढी पहिरोमा परेर मृत्यु हुनेमा महाकाली नगरपालिका–२ मुल्लाका ७७ वर्षीय नन्दराम बोहरा र महाकाली–३ डुङरीकी ३५ वर्षीया मानमती कार्की तथा नौगाड गाउँपालिका–१ की ३५ वर्षीया जानकी ठगुन्ना र १५ वर्षीया धनुली ठगुन्ना तथा नौगाड–२ का ४५ वर्षीय मोहनराम पार्की छन् ।
पहिरोमा परी नौगाड–४ का रामसिँह ठगुन्ना, विरा ठगुन्ना, फागुली ठगुन्ना र जयवहादुर ठगुन्ना घाइते छन्। उनीहरूलाई सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमा नौगाडबाट खलंगा हुँदै कैलालीको धनगढी लगिएको सहायक प्रजिअ साउदले जानकारी दिए।
जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि चारैजनालाई धनगढी लगिएको उनले बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation