काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भलादिमिर पुटिनलाई युक्रेनसँगको युद्ध रोक्न आग्रह गरेका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘अहिलेको समयमा युद्ध उचित नभएको’ प्रतिक्रिया जनाएर युद्ध रोक्ने आशयको सन्देश दिएपछि मोदी अन्तर्राष्ट्रियस्तरमा चर्चामा छन्।
‘अहिलेको समय युद्धको होइन, अहिलेको वैश्विक चिन्ता खाद्य सुरक्षा, इन्धन सुरक्षा र मलको विषय हो,’ उज्बेकिस्तानको समरकन्दमा भएको सांघाई सहयोग संगठन (एससीओ) को बैठकका क्रममा शुक्रबार पुटिनसँग भएको साइडलाइन वार्तामा मोदीले भने।
भारतीय प्रधानमन्त्रीले ‘थ्री डी’ (डेमोक्रेसी, डिप्लोमेसी र डायलग) मार्फत शान्तिको बाटो अपनाउन रूसी राष्ट्रपतिलाई सुझाव दिएका हुन्।
सांघाई शिखर सम्मेलनका क्रममा भएको मोदी र पुटिन भेटवार्ता तथा त्यसक्रममा मोदीले दिएको सुझावको सर्वत्र चर्चा पाएको हो। अमेरिकी, रुसी सबैतिरका सञ्चारमाध्यमहरूले दुई नेताबीचको भेटमा मोदीले दिएको सुझावलाई प्राथमिकताका साथ समाचार बनाएका बीबीसीले जनाएको छ।
शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि उपस्थित थिए। सी र पुटिनबीच पनि भेटवार्ता भएको थियो। त्यहाँ पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफदेखि मध्य एसियाली देश कजाकस्तान, किर्गिस्तान, ताजिकिस्तान र बैठक आयोजक उज्बेकिस्तानका राष्ट्र तथा सरकार प्रमुखहरू सहभागी थिए। तर, चर्चा भने मोदीको भयो।
चिनियाँ राष्ट्रपति सी र पाकिस्तानी प्रधानमन्त्री सरिफसँग भने मोदीको छुट्टै भेटवार्ता भने भएन। दुवै देशसँग भारतको सीमाका विषयमा तनाव रहँदै आएको छ।
गत फेब्रुअरीमा रुसले युक्रेनमाथि गरेको आक्रमणले ७ महिना पुग्नै लागिसकेको भए पनि दुवै देशबीच युद्ध जारी छ। अमेरिकासहित पश्चिमा शक्तिशाली देशहरूले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा मात्रै गरेका छैनन्, रुसमाथि धरै खाले प्रतिबन्धहरू लगाएका छन्। पश्चिमा देशहरूको दबाबसामु पनि भारतले रुससँगको आफ्नो सम्बन्ध यथावत् राखेको छ। युद्धको दौरान पनि भारतले रुससँग सस्तो मूल्यमा इन्धन खरिद गर्दै आएको छ।
पुटिनले आफू हतारमा नरहेको र युक्रेनको डोन्बास क्षेत्रमा आक्रमण जारी रहने बताएका छन्। युक्रेन युद्धमा रुसले हालसम्म आफ्नो पूर्ण सैन्य शक्ति नखटाएको पुटिनको दाबी छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation