काठमाडौं- प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक कुरा नसुनेर एकलौटी रुपमा अघि बढे आफूहरु विद्रोहमा उत्रिने शेखर कोइराला पक्षले चेतावनी दिएको छ।
पार्टी सभापति देउवालाई दबाब दिन राजधानीमा आयोजित खबरदारी कार्यक्रममा बोल्दै नुवाकोटका नेता जगदीशनरसिंह केसीले सभापति देउवाले समानुपातिकको सूचीमा पनि अन्तिमा शेखर पक्षका मानिसहरुलाई समावेश गरेको र एकलौटी रुपमा सूची तयार गरेको दाबी गरेका छन्।
‘शेखर पक्षको नाम निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा आठौं र नवौ नम्बरमा मात्र राखिएको छ,’ उनले भने, ‘पालो नआओस् भन्ने सोचका साथ यस्तो सूची बनाएको देखिन्छ।’ केसीले समानुपातिकको बन्द सूची सच्याउन निर्वाचन आयोगले दिएको समय असोज १६ गतेभित्र नसच्याए प्रतिवादमा उत्रिने बताए।
‘समानुपातिकमा हामीले दिएका नाम काटिएको छ। १६ गतेसम्म नसच्याए हामी प्रतिवादमा उत्रन्छौं’ उनले भने, ‘समानुपातिक सूची १६ गतेसम्म सच्चिएन भने नयाँ बाटोका लागि तपाईं सबै तयार रहनुस्।’
नेता गुरुराज घिमिरेले जथाभावी उम्मेदवार चयन गर्दा पार्टीका लागि मत माग्न पनि अप्ठेरो पर्ने बताए। ‘समानुपातिकमा त देखाउन मिल्ने मान्छे राख्नुस्। अहिले प्रदेश १ बाट राखेका मान्छे हामीनै चिन्दैनौं, यस्तो नाम राख्न कसले दियो अधिकार ?’ उनले प्रश्न गरे।
पार्टीमा न्यायोचित रुपमा टिकट वितरण नभए ४० प्रतिशत भाग चाहिने घिमिरेले बताए। ‘४० प्रतिशतको भाग खोज्ने प्रतिपादक तपाईं (देउवा) हो। हामी तपाईकै बाटोमा छौं’ उनले भने ‘कार्यकर्तालाई न्यायोचित अवसर चाहिन्छ। ४० प्रतिशत भन्दा १ प्रतिशत पनि मञ्जुर छैन। अब टुलु टुलु हेरेर हामी बस्दैनौं।’
उनले सत्तारुढ गठबन्धनको बैठकमा भागवण्डाको हिसाब मिलाएर मात्र चुनाव जित्न नसकिने बताए। पार्टीभित्र न्यायोचित अवसरका लागि शेखर पक्षका पदाधिकारी र नेताहरुलाई खुट्टा नकमाउन पनि घिमिरेले आग्रह गरे।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation