काठमाडौं- प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि ४८ वटै दलले पेस गरेको बन्दसूची नमिलेको निर्वाचन आयोगले जनाएको छ।
सबै राजनीतिक दलले पेस गरेको बन्दसूची कानूनी व्यवस्थाअनुसार नमिलेको भन्दै आयोगले दलहरुलाई कानूनी व्यवस्थाअनुसार सच्याउन पत्राचार गरेको छ।
‘कसैको क्लस्टर मिलेको छैन। कसैको नाम मिलेको छैन। कानुनअनुसार नभएपछि सच्याउन दलहरूलाई पत्राचार गरिएको हो,’ समानुपातिक निर्वाचनतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले भने।
प्रतिनिधिसभाको समानुपातिकतर्फ ४८ दलले बन्दसूची पेस गरेका थिए। प्रवक्ता वाग्लेका अनुसार ४८ वटै दलको सूची मिलेको छैन। प्रदेशतर्फ पनि नमिलेकाले सच्याउन दलहरूलाई भनिएको छ। गत २ असोज र ३ मा दलहरूले बन्दसूची पेस गरेका थिए।
९ गतेसम्म आयोगले छानबिन गरेपछि सच्याउन दलहरूलाई १६ गतेसम्मको समय दिएको छ। बन्दसूची २२ असोजमा सार्वजनिक गर्ने आयोगको तयारी छ।
मिश्रित निर्वाचन प्रणालीअनुसार प्रदेश सभा र प्रतिनिधि सभामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीमार्फत आउने व्यवस्था छ । यसअनुसार प्रतिनिधिसभामा १ सय १० र प्रदेश सभामा २ सय २० सांसद समानुपातिकबाट छानिनेछन् ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation