काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन्।
उनले शनिबार आफ्नो फेसबुक पेज मार्फत् एमाले परित्याग गरेको जानकारी दिएका हुन्। उनले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावना नदेखेपछि आफूले पार्टी छाड्ने निर्णय गरेको घोषणा गरेका हुन्।
‘म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमानदार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु‚’ फेसबुकमा उनले लेखेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले केवल दम्भ र स्वेच्छाचारिताको आक्रमण बढ्दै गएको आरोप लगाउँदै भुसालले पार्टी परित्याग गरेका हुन्।
‘अहिले यो पार्टी कमरेड केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले- केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ। नेकपा एमालेको गौरवलाई कुनै दिन पुनःस्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ‚’ उनले लेखेका छन्।
भूसालले आफ्नो गृह नगर मणिग्राम समेत पर्ने रुपन्देही १ बाट उम्मेदवारको दाबी गर्दै आएका थिए।
भुसालले २०७४ सालको आम निर्वाचनमा पनि रुपन्देही-१ बाट टिकट मागेपनि पार्टी छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको थियो। यस पटक पनि एमालेले विश्वकर्मालाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ।
२०७४ सालमा भुसाललाई एमालेले रुपन्देही-३बाट उम्मेदवार बनाएको थियो। यसपटक भूसालको नाम रुपन्देही १ र रुपन्देही ३ बाट सिफारिस भएको थियो। जिल्ला कमिटी पनि रुपन्देही १ बाट नाम सिफारिस गरेपनि प्रदेश कमिटीले छाविलाल विश्वकर्माको नाम मात्रै सिफारिस गरेको थियो। भुसालको नाम रुपन्देही-३ बाट केन्द्रबाट सिफारिस भएर आएपनि उक्त क्षेत्रमा एमालेले राप्रपासँग तालमेल गर्ने निर्णय गरेपछि दीपक बोहोरालाई छाडिदिएको छ।
सत्तारुढ गठबन्धनमा रुपन्देही १ नेकपा माओवादी केन्द्रको भागमा परेको छ। स्रोतका अनुसार नेकपा माओवादी केन्द्र भूसाललाई सघाउनेका लागि सकारात्मक रहेको छ। शनिबार बेलुकीसम्ममा भूसालले उम्मेदवारीको औपचारिक घोषणा गर्ने तयारी रहेको उनी निकट स्रोतले जनाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation