काठमाडौं- केही दिनयता नेपाली कांग्रेसकी नेतृ सुजाता काेइरालाकाे भनाइ भन्दै १६ सेकेन्डकाे एउटा भिडियाे क्लिप सामाजिक सञ्जालमा भाइरल भएकाे छ । साे भडियाेसँगै फेसबुक र ट्वीटरमा यस्ताे स्टाटस पाेस्ट गरिएकाे छ : “कालापानी भूभाग भारतकाे हाे, भारतलाई दिनुपर्छ- सुजाता काेइराला, नेतृ, नेपाली कांग्रेस, उम्मेद्वार गठबन्धन, माेरङ-२ ।”
NB Samarpan नामक फेसबुक प्रयाेगकर्ताले असाेज १५ गते सेयर गरेकाे पाेस्टमा ११८ प्रतिक्रिया आएका छन् भने त्यसलाई ७७४ पटक सेयर गरिएकाे छ (स्क्रिनसट)। अन्य कैयाैँ प्रयाेगकर्ताले उक्त पाेस्ट फेसबुकमा सेयर गरेका छन् । साेही पाेस्ट @shining_prince1 नामक ट्वीटर ह्यान्डलले पनि पाेस्ट गरेकाे छ । त्यस्तै टिकटकमा @pradipbhattarai_ ले पनि “कालापानी भूभाग भारतकाे हाे : नेपाली कांग्रेस नेता सुजाता काेइराला” लेख्दै साे भिडिया सेयर गरेका छन् । उनले सेयर गरेकाे भिडियाेले २५०० भन्दा बढी पटक हेरिएकाे छ (स्क्रिनसट)।
आउँदाे मंसिर ४ गते हुने प्रतिनिधिसभाकाे चुनावमा माेरङकाे क्षेत्र नं २ बाट सत्तारूढ गठबन्धनकी उम्मेद्वार काेइरालाले उक्त भिडियाेकाे सुरुमा चश्मा लगाएर टेबलमा राखिएकाे कुनै सामग्रीबाट पढेर सुनाएकाे देखिन्छ । उनले भनेकी छन्, “लिज (भाडा) मा दिन सकिन्छ । त्यहाँ हामीले बाटाे पनि बनाउने हाम्राे क्षमता छैन । हाम्राे सरकार त्यहाँ पुग्न पनि सकेकाे छैन । तर लिजमा दिऊँ । लिजमा दिऊँ भनकाे त बेचिदिऊँ कन्ट्री भनेकाे त हैन नि ।”
सामाजिक सञ्जालमा फैलाइएकाे यस भिडियाे क्लिप र त्यससँगै गरिएकाे दाबीकाे नेपाल चेकले सत्यापन गरेकाे छ ।
उक्त भिडियाे क्लिप काेइरालाले २०७७ साल वैशाख २९ गतेकाे प्रतिनिधिसभाकाे अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा राखेकाे भनाइकाे एक अंश हाे । उक्त बैठकले सरकारलाई कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षाकर्मी हटाउन निर्देशन दिएकाे थियाे । समितिले अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गर्नसमेत सरकारलाई निर्देशन दिएकाे थियाे । (जेठ ७, २०७७ मा सरकारले कालापानी समेटिएकाे नेपालकाे नयाँ नक्सा औपचारिक रूपमा सार्वजनिक गर्यो ।)
हामीले इन्टरनेटमा खाेजी गर्दा समितिकाे बैठकमा कांग्रेस नेतृ तथा पूर्व उप प्रधान तथा परराष्ट्रमन्त्री काेइरालाले बाेलेकाे ५ मिनेट ४४ सेकेन्ड लामाे भिडियाे सेताेपाटीले प्रकाशित गरेकाे फेला पार्यौं । साे भिडियाेकाे सुरुतिर उनले भनेकी छन् :
अहिले भर्खर मैले एउटा न्युज पढेँ । मेरै बा रे मा । अहिले भर्खर यहाँ आयाे । याे छ महिना पहिले आएकाे थियाे । अहिले फेरि सुरु हुन थाल्याे । त्यसकाे हेडलाइन के छ भन्देखिन् कालापानीकाे भूभाग भारतकाे हाे, भारतलाई दिनुपर्छ । यस्ताे कुरा कहिले पनि मैले गर्न सक्छु यस्ताे कुरा ? आफ्नाे देशका लागि, आफ्नाे राष्ट्रका लागि, राष्ट्रकाे हितमा मैले जहिले पनि ‘स्ट्यान्ड’ लिएकाे कारण म पछि परेकाे छु राजनीतिमा । कुरा बुझ्नुपर्यो नि सबैले ।
पूर्वमन्त्री काेइरालाले इंगित गरेकाे समाचार उनले प्राइम टाइम्स टेलिभिजनलाई २०७६ साल पुस २० गते दिएकाे अन्तर्वार्तामा आधारित भएकाे फेला पर्यो । उनले उक्त अन्तर्वार्तामा कालापानी भारतलाई भाडामा दिन सकिने विचार व्यक्त गरेकाे रिपाेर्टर्स नेपालमा प्रकाशित समाचारमा जनाइएकाे छ । कतिपय अनलाइनले उनले प्रयाेग गरेकाे लिज (भाडा) शब्द हटाई कालापानी भारतलाई दिनुपर्छ भनेकाे भनी समाचार बनाएका थिए ।
हाल भाइरल भिडियाे क्लिपकाे अध्ययन गर्दा सेताेपाटीमा प्रकाशित भिडियाेलाई काटछाँट गरिएकाे पाइएकाे छ । उनकाे सुरुकाे भनाइ राखी त्यसपछि करिब १७ सेकेन्डकाे क्लिप काटेर त्यसपछिकाे भाग जाेडिएकाे छ ।
त्यसैले काेइरालाले कालापानी भारतलाई दिनुपर्छ भनेकाे भन्दै सेयर गरिएकाे पाेस्ट भ्रामक छ ।
यसअघि नै यही भिडियाे सहित गरिएकाे दाबीको साउथ एसिया चेकले तथ्य जाँच गरेकाे थियाे ।
सुजाता काेइरालाले कालापानी भारतलाई दिनुपर्छ भनेकाे भन्दै सामाजिक सञ्जालमा भारइरल भिडियाेकाे तथ्य जाँचपछि नेपाल चेककाे निष्कर्ष ।दाबी दाबीकर्ता नेपाल चेक निष्कर्ष कांग्रेस नेता सुजाता काेइरालाले कालापानी भारतलाई दिनुपर्छ भनिन् । सामाजिक सञ्जाल प्रयोगकर्ता भ्रामक
© Lok Kalam . Designed and Developed by Goldenmud Creation