काठमाडौं- नेपाली कांग्रेस नेत एवं पूर्व सांसद मैयादेबी श्रेष्ठको ९५ वर्षको उमेरमा निधन भएको छ। दानकी खानीका रूपमा चिनिएकी श्रेष्ठको गएराति १ बजेर १० मिनेटमा चितवन मेडिकल कलेजमा निधन भएको चितवन कांग्रेसका सभापति राजेश्वर खनालले जानकारी दिए।
वि.सं. १९८५ असोज ५ गते फूलपातीका दिन तनहुँको बन्दीपुरमा जन्मिएकी मैयादेवी, पिता बीरबहादुर श्रेष्ठ र आमा गणेशकुमारी श्रेष्ठकी दोस्रो सन्तान हुन्। त्यसबेला वीरगञ्जमा डिठ्ठा रहेका बीरबहादुर श्रेष्ठले १९८० सालतिरै चितवनको नारायगढमा थुप्रै जमिन जोडेका थिए।
मैयादेविकको आइतबार दिउँसो १ वजे देवघाटमा दाहसंस्कार गरिने चितवन जिल्ला सभापति खनालले जानकारी दिए। उनलाई अन्तिम श्रद्धान्जली दिनका लागि केन्द्रिय नेताहरु समेत सहभागि हुनेछन्।
मैयादेवीले २००३ सालमा विपी कोइरालाबाट कांग्रेसको सदस्यता लिएकी हुन्। विपीले उनका औंला ब्लेडले चिरेर रगतको ल्याप्चे लगाई सदस्यता दिएका थिए। २००७ सालको क्रान्तिमा तनहुँको बन्दीपुरमै सक्रिय भएकी मैयादेवी २०१४ को भद्र अवज्ञा आन्दोलनमा जेल परिन्।
२०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरेपछि भारत पलायन भएकी उनले २०१८ देखि २०२० सालसम्म ऋषिकेशमा कांग्रेसको राजनीति सक्रिय भइन्। लामो समय महिला संघको चितवन जिल्ला अध्यक्ष रहेकी उनी २०४८ सालमा गोरखा क्षेत्र नम्बर २ बाट सांसद निर्वाचित भइन्। २०५६ सालमा राष्ट्रिय सभामा मनोनित भइन्। २०६२/०६३ को जनआन्दोलनपछि पुनस्थापित संसदमा पनि उनी सांसद थिइन्।
अविवाहित मैयादेवी श्रेष्ठले आफ्नो जीवन समाजसेवा र राजनीतिमा लगाइन्। उनको बढी झुकाव समाजसेवामा छ। रविभवनमा रहेको नेपाल तरूण दलको केन्द्रीय कार्यालय मैयादेवी श्रेष्ठले दिएकी हुन्।
उनको निधनप्रति प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन्। उनले भनेका छन्, 'नेपाली कांग्रेसकी नेतृ, पूर्व सांसद तथा समाजसेवी मैयाँदेवी श्रेष्ठको निधनको खवरले स्तब्ध भएको छु। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु।'
© Lok Kalam . Designed and Developed by Goldenmud Creation