काठमाडौं- देशभर दिनप्रतिदिन चिसो बढ्ने तथा तापक्रम घट्ने क्रम जारी छ। यसै क्रममा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० डिग्रीबाट पनि तल झरेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज बिहानको मापनमा काठमाडौं उपत्यकको तापक्रम ९.७ डिग्री देखिएको हो। हिजो शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम १०.६ डिग्री थियो। केही दिनयता काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हरेक दिन लगभग १ डिग्रीका दरले ओरालो लागिरहेको छ।
मौसमविद् अधिकारीका अनुसार अस्ति बिहीबार उपत्यकाको न्यूनतम तापक्रम ११.४ डिग्री थियो भने चार दिनअघि (नोभेम्बर ८ तारिखमा) १२.५ डिग्री सेल्सियस थियो। तर यस अगाडि नोभेम्बर ३ तारिखमा भने काठमाडौं उपत्यकाको तापक्रम १० डिग्री सेल्सियस थियो। मौसमविद्का अनुसार तापक्रम घटीबढी हुने भए पनि मूलतः घट्दो क्रममै छ।
तीन प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ।
आज दिउँसो प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानहरूमा हल्का वर्षा र हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि संभावना रहेको छ। राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।
आइतबार पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation