काठमाडौं- प्रेस काउन्सिल नेपालले केही सञ्चारमाध्यमको मास्टहेड दुरुपयोग प्रयोग गरी राजनीतिक दल तथा उम्मेदवारका बारेमा अफवाहपूर्ण दुष्प्रचारयुक्त, गलत एवं भ्रामक सामग्री सामाजिक सञ्जालमा सम्प्रेषण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको स्थिर समय (मौन अवधि) मा विभिन्न सञ्चारमाध्यमको मास्टहेड प्रयोग गरी बनाइएका विभिन्न दल तथा उम्मेदवारका समाचार शनिबार सामाजिक सञ्जालबाट सम्प्रेषण भएका थिए।
त्यस्ता समाचार सामग्रीका सम्बन्धमा सम्बन्धित मिडियासँग जानकारी माग गर्दा ‘ती शीर्षकमा त्यस किसिमका कुनै समाचार सम्प्रेषण नगरेको, त्यो फेक न्युज हो’ भनी जवाफ प्राप्त भएको काउन्सिलका सहप्रवक्ता एवं उपप्रशासकीय अधिकृत रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। कतिपय सञ्चार माध्यमले भने आफ्नो सामाजिक सञ्जालबाट त्यसबारे प्रष्ट्याइसकेका छन्।
काउन्सिलले निर्वाचनमा प्रभाव पार्ने किसिमले अफवाहपूर्ण, दुष्प्रचारयुक्त/फेक न्युजबाट सजग रहन अनुरोध गर्दै स्थिर समयमा सामाजिक सञ्जालबाट दुष्प्रचारयुक्त/अफवाहपूर्ण सामग्री सम्प्रेषण भएमा विद्युतीय अपराधसम्बन्धी कानुन आकर्षित हुनेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
निर्वाचनको संवेदनशील घडीमा प्रभाव पार्ने उद्देश्यले कुनै पनि माध्यमबाट दुष्प्रचारयुक्त/ मिथ्या सूचना/भ्रामक टिकाटिप्पणी नगर्न तथा सामाजिक सञ्जालबाट समेत पोष्ट, सेयर, कमेन्ट नगर्न/नगराउनतर्फ काउन्सिलले सबै सञ्चार माध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताको गम्भीर ध्यानाकर्षण गराएको छ।

© Lok Kalam . Designed and Developed by Goldenmud Creation