काठमाडौं- निर्वाचन सम्पन्न भएको ११ दिन बितिसक्दा पनि बाजुरामा भने मतगणना सुरु हुन सकेको छैन। पुन:मतदानको माग गरिरहेको नेकपा एमालेले मतगणनालाई अघि बढ्न दिएको छैन।
निर्वाचन आयोगले बुधबार पुन:मतदान हुने कारण नदेखेको भन्दै मतगणना अघि बढाउन जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको थियो।
निर्वाचन अधिकृतले मतगणनाका लागि सर्वदलीय बैठक बोलाए पनि एमाले भने बैठकमा पनि भागिरहेको छ।
निर्वाचन आयोगको निर्देशन लगत्तै मतगणना सुरु गर्नका लागि त्यहाँ सर्वदलीय बैठक बोलाइएको थियो। तर, बुधबार बोलाइएको बैठकमा नेकपा एमालेका प्रतिनिधिहरू उपस्थित नभएपछि मतगणना सुरु हुन सकेको थिएन।
बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार आज (१५ मंसिर) बिहान ७ बजेका लागि पुनः सर्वदलीय बैठक बोलाइएको छ। ‘हिजोको सर्वदलीय बैठकमा एमालेका प्रतिनिधिहरु उपस्थित हुनुभएन्, आज बिहान ७ बजेलाई हामीले पुनः सर्वदलीय बैठक बोलाएका छौं,’ पौडेलले भने, ‘हामीले बैठकमा उपस्थित हुनका लागि एमालेलाई खबर गरेका छौं,’
मतगणना कहिलेबाट र कसरी सुरु हुने भन्नेबारेमा सर्वदलीय बैठकपछि मात्रै निर्णय हुने उनले बताए।
मतदानको दिन बाजुराका विभिन्न ठाउँमा गरेर २० भन्दा बढी ठाउँको मतदानमा विवाद उत्पन्न भएको थियो। जसले गर्दा बाजुरामा पुनः निर्वाचन गराउने वा मतगणना गर्ने अन्योल थियो।
मतदानको दिन बाजुराका विभिन्न ठाउँमा झडप, मतदानस्थल तोडफोड, ढुंगामुढा प्रहार, मतपेटिका जलाउने, प्रहरीद्वारा हवाई फायर, मतदाता लखेटिएका लगायत घटना भएका थिए।
मतदानको क्रममा भएको विवादले गर्दा नै बाजुरामा दुई जनाले ज्यान पनि गुमाए। बाजुराको बुढीगंगा, बुढीनन्दा, स्वामीकार्तिक खापर, खप्तड छेडेदह, त्रिवेणी र जगन्नाथ लगायत २३ ठाउँमा पुनः मतदान हुनु पर्ने माग गर्दै एमाले र कांग्रेसले निवेदन दिएको थियो।
नेकपा एमालेले १५ र नेपाली कांग्रेसले ८ ठाउँको मतदान पुनः गर्न निवेदन दिएका थिए। त्यसपछि निर्वाचन आयोगको टोलीले स्थलगत अध्ययन समेत गरेको थियो। बाजुरामा ७० वटा मतदानस्थल र ११४ वटा मतदान केन्द्र रहेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation