काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ। मतगणना सकिएर राजनीतिक दलबीच नयाँ सरकार बनाउन रस्साकस्सी चलिरहेका बेला यहाँका युवाहरू भने रोजगारीको खोजीमा भारत जान थालेका छन्।
चुनावी रौनक सकिएसँगै सिङ्जा क्षेत्रका गाउँमा पुरूषको संख्या घट्न थालेको सिङ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल बताउँछन्।
'स्थानीय स्तरमा रोजगारीको अवसर छैन,' उनले भने, 'गाउँबाट अध्ययन र रोजगारीका लागि भारत जानेको संख्या बढेसँगै गाउँमा पुरूषको संख्या पातलिन थालेको हो।'
हिउँदेयाम लागेसँगै घरखर्च जुटाउन यहाँका युवा भारत जान बाध्य भएको उनको भनाइ छ।
यहाँका प्राय: युवादेखि वृद्धसम्मका धेरैजसो व्यक्ति रोजगारीको खोजीमा भारत जाने गरेको तिला गाउँपालिका–१ का स्थानीयवासी विशल बुढाको भनाइ छ।
स्थानीय स्तरमा रोजगारी नपाइने र कृषि पेसाका लागि हिउँदे याममा बढी जाडो हुने भएकाले मंसिरदेखि फागुनसम्म भारतका विभिन्न स्थानमा व्यापार गर्नेदेखि काम गर्नेहरू बढी हुने यहाँका स्थानीय बताउँछन्।
रोजगारीका लागि ठूला सहर तथा भारततिर गएका युवा खेतीपातीको सिजन सुरू भएपछि मात्रै जुम्ला फर्कने गर्छन्। जुम्लाबाट रोजगारीको खोजीमा विशेष गरी भारतको उत्तराञ्चल, हिमाञ्चल लगायत क्षेत्रमा जाने गरेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation