काठमाडौं- दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन्।
कार्की ५१८ मत अन्तरले निर्वाचित भएका हुन्। कार्कीले ३६ हजार ९९५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४७७ मत पाएका छन्।
अहिले समानुपातिकको गणना भइरहेकाे छ। समानुपातिककाे मतपेटिकामा प्रत्यक्षको मतपत्र भेटिए पनि गणना गर्ने निर्णय सर्वदलीय बैठकमा भएका कारण जितकाे अन्तरकाे अंक केही तल माथि पर्न सक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयका एक कर्मचारीले बताए।
यससँगै देशभरको निर्वाचन परिणाम आएको छ। कार्कीको जितसँगै माओवादी केन्द्रले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १८ सिट पुर्याएको छ।
मंसिर ४ गतेको निर्वाचनमा दोलखाका १० क्षेत्रमा धाँधली भएको निष्कर्षसहित ती क्षेत्रमा मंसिर १५ गते पुनः निर्वाचन भएको थियो।
दोलखाको प्रदेश सभा १ बाट भने नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले निर्वाचित भइसकेका छन्। कांग्रेस केन्द्रीय सदस्य काफ्ले, नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई ७ हजार ८७५ मत अन्तरले पछि पार्दै निर्वाचित भएका हुन्। उनले २३ हजार २३१ मत पाएका छन्। नेकपा एमालेका श्रेष्ठले मत १५ हजार ३५६ मत प्राप्त गरेका छन्।
प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका अनुसार केसी १९ हजार ४१४ मत प्राप्त गरी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्। उनका निकटत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत पाए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation