९ कार्तिक २०८३, आइतबार

निर्वाचन आयोगले विषाक्त स्यानिटाइजर ल्याएर करोडौं घोटाला गर्दा पनि अख्तियार मुकदर्शक

  • २९ मंसिर २०७९, बिहिबार
Image

काठमाडौं- निर्वाचन आयोगले देशभर एकसाथ सफलतापूर्वक निर्वाचन सम्पन्‍न गराएको छ। निर्वाचन आयोगले अन्तिम मतपरिणामसहितको मतदानको नतिजासहितको सम्पूर्ण प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने तयारी गरेको छ। तर, निर्वाचन सफलतापूर्वक सम्पन्‍न गर्ने क्रममा आवश्यक सामग्री खरिदका क्रममा करोडौं घोटाला भएको आयोगके कर्मचारीहरुले बताउने गरेका छन्। 

जसमध्ये स्यानिटाइजर खरिदका क्रममा पनि करोडौं घोटाला भएको पाइएको छ।  निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि विषाक्ता ह्याण्ड स्यानिटाइजर खरिद गरेर घोटाला गरेको हो। उक्त घोटाला हुँदा अख्तिायर दुरुपयोग अनुसन्धान आयोग भने मुकदर्शक बनेको छ। 

निर्वाचन आयोगले ल्याएको स्यानिटाइजर राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गराउँदा प्रयोग गर्न नमिल्ने देखिएपछि आयोगले प्रमुख निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकृतलाई प्रयोग नगर्नका लागि परिपत्र जारी गरेको थियो। उक्त परिपत्र जारी भए पनि स्यानिटाइजर भने प्रयोगमा गइसकेको र भुक्तानी पनि भइसकेका कारण अब यसलाई कसरी मिलाउने भन्‍ने विषयमा आयोगमा प्रमुख आयुक्त दिनेशकुमार थपलियादेखि आयोगका लेखा शाखाका प्रमुखसम्मले छलफल गरिरहेका छन्। 

यस विषयमा आयोगभित्रै प्रश्‍न उठेपछि निर्वाचनका सम्पूर्ण काम सम्पन्‍न गरेपछि यसको छानबिनका लागि समिति गठन गर्ने गरी रोकिएको बताइएको छ। आयोग स्रोतका अनुसार स्यानिटाइजर खरिद गरेर ल्याइदिने सप्लायर (बिडर) मेडी प्वाइन्ट इन्टरनेशनल प्रालि हो। मेडी प्वाइन्ट र आयोगको मिलेमतोमा विषाक्त स्यानिटाइजर भित्र्याएको र अहिले अब कसरी ढाकछोप गर्ने भन्‍ने आन्तरिक छलफल भएको छ। तीन करोड ४५ लाख मूल्यको २३ हजार बोटल ह्याण्ड स्यानिटाइजरमा विशाक्त तत्त्व भएको प्रमाणित भएको हो।

विभाग स्रोतका अनुसार पनि स्यानिटाइजरमा ७० देखि ८० प्रतिशत इथानोल अल्कोहलको मात्रा हुनुपर्ने थियो। स्यानिटाइजरमा मिथानोल मिसिनै हुँदैन थियो। तर, त्यसको ठीकविपरीत आयोगले खरिद गरेको स्यानिटाइजरमा इथायल (इथानोल) अल्कोहल दुई प्रतिशत मात्रै र मेथायल (मिथानोल) अल्कोहलको मात्रा ६७ प्रतिशत भेटिएको छ।

औषधि व्यवस्था विभागले कात्तिक ३० गते सूचना जारी गर्दै ब्याच नं. ‘सीएआरई–११–२२’ को पाँच सय एमएलको ‘जीसीएच ह्याण्ड स्यानिटाइजर’ न्यून गुणस्तर (विषक्त मेथानोल) भएको बताएको थियो। यसरी विषाक्त हो भन्‍ने जान्दाजान्दै पनि आयोगले लापरबाहीले कयौं स्थानमा स्यानिटाइजर पठाइएको बताइएको छ।

निर्वाचन आयोगले स्यानिटाइजरमा मात्रै यति घोटाला गरेको छ भने मतदाता शिक्षा, अन्य आवश्यक उपकरण खरिदमा पनि आयोगकै आयुक्त र कर्मचारीको मिलेमतोमा करोडौं घोटाला गरिएको र अहिले त्यसको हिसाब मिलाउने काम भइरहेको स्रोतले बताएको छ। 

भ्रष्टाचार र अख्तियार दुरुपयोग भएको अनुसन्धान गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग भने मौन देखिन्छ। आयोगकै केही अधिकारीहरुले भने दिनेशकुमार थपलिया र अख्तियामा प्रमुख आयुक्त प्रेम कुमार राई दुबै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट भएका कारण उनीहरुले यस विषयलाई सामसुम पार्न खोजेकोसमेत आरोप लगाउने गरेका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर