काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
सिन्धुली घर भएका युवराज सफलले संवैधानिक इजलासमा दायर गरेको रिटमा रवि लामिछानेको सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज गर्न माग गरिएको छ।
रिटमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ।
चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले आफूखुशी अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहेको अवस्थामा उनले पदाधिकारी रही दल दर्ता गरेको, उम्मेदवारी दिएको र निर्वाचित समेत भएको भन्दै रिटमा निर्वाचन आयोगले संविधान र ऐनको गम्भीर उल्लंघन गरेको दावी गरिएको छ।
‘नेपाली नागरिक नभएको व्यक्तिले राजनीतिक दलको सदस्य र पदाधिकारी हुन, निर्वाचनमा उम्मेदवार हुन, प्रतिनिधि सभा सदस्य हुन नपाउने कानूनी व्यवस्था बिपरीत काम कार्यबाही गर्न मिल्छ कि मिल्दैन भन्ने गम्भीर सार्वजनिक सरोकारको सवाल उपस्थित भएको हुँदा सो विषयको व्याख्या र निरुपणका लागि यो रिट निवेदन लिएर सम्मानित अदालत समक्ष प्रवेश गरेको छु’ रिटमा भनिएको छ।
रिटमा लामिछाने प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको ठहर गरी सांसद पदबाट मुक्त गर्न निर्वाचन आयोगको नाममा परमादेशको आदेश माग गरिएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation