९ कार्तिक २०८३, आइतबार

कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

  • ५ पुष २०७९, मङ्गलबार
Image

काठमाडौं- नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ। आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको हाे। साथै, दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने संयोजक भीष्मराज खाङ्देम्बेले जानकारी दिए।

उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ। संसदीय दलको नेता चयनको लागि बुधबार मतदान हुँदै छ। बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान तालिका छ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन प्रत्यक्ष र समानुपातिकतर्फको नतिजापछि कांग्रेसले विधानअनुसार दल नेता चयन प्रक्रिया थालेको हो।

कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेको छ। उनीहरू ‘दलको नेता छान्ने प्रक्रिया’मा सहभागी हुन पाउनेछन् भने उनीहरूको नाम मतदाता सूचीमा प्रकाशित भइसकेको छ।

त्रिपक्षीय भिडन्त

पुस ६ गते हुने संसदीय दलको चुनावमा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले प्रतिस्पर्धा गर्ने भएका छन्।

संस्थापन तर्फबाट सभापति देउवा र संस्थापनइतरबाट महामन्त्री थापा र नेता कोइराला मैदानमा उत्रिन लागेका हुन्। संसदीय दलमा कमजोर देखिएको संस्थापन इतरबाट महामन्त्री थापाले आफूलाई बाइपास गरेर अघि बढ्न खोजेको भन्दै असन्तुष्ट भएका कोइराला पनि चुनाव लड्ने बताइरहेका छन्।

गत वर्ष भएको पार्टी महाधिवेशनमा थापा शेखर नेतृत्वको समुहबाट महामन्त्री लडेका थिए। तर यस चुनावअघि आफूसँग छलफल नै नगरी  प्रधानमन्त्री  घोषणा पछि उनी असन्तुष्ट बनेका हुन्। जसका कारण शेखर र गगनबीच संवादहीनताको अवस्था थियो।

नेता अर्जुननरसिंह केसीको पहलमा सहमति जुटाउने प्रयास भएपनि सफल हुन सकेन। संसदीय दलको नेताको साझा उम्मेदवार खोज्न संस्थापनइतरको सोमबार बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ।

उक्त समूहमा सोमबार बिहानदेखि नेता शेखर कोइराला र महामन्त्री गगन थापा मध्ये एउटा उम्मेदवार बनाउने विषयमा छलफल भएको थियो।

उक्त समूहका शीर्ष नेता र सांसद सम्मिलित छलफलमा कोइराला र थापाले एक अर्कालाई नछाडेपछि आज सहमति हुन नसकेको हो। इतर पक्षका नेता तथा सांसदहरूले कोइराला र थापालाई मिलेर एक जना उम्मेदवार बन्न दबाब बढाए पनि सफल हुन सकेका छैनन्।


प्रतिक्रिया

सम्बन्धित खवर